“रामेछापको सान जिल्लाको पहिचान” अवार्ड विजेता कलाकारलाई सम्मान


रामचन्द्र वि.क., रामेछाप ।
इमेज च्यानलबाट प्रशारण भएको कोल्गेट इमेज लोक कलाकार सिजन–२ का बिजेता रामकुमार नेपालीलाई गृह जिल्ला रामेछापमा सम्मान गरिएको छ । सोमबार परियार एकता समाज रामेछापको आयोजना तथा विभिन्न संघ संस्थाको समन्वयमा बाजागाजा सहितको बिजय ¥यालीसँगै सम्मान गरिएको हो ।

२०४७ सालमा बाबु लक्ष्मण नेपाली र आमा चिना नेपालीको एक्लो छोराको रुपमा मन्थली– १ मा जन्मिएका नेपाली कोल्गेट इमेज लोक कलाकार सिजन २ मा प्रथम भई अवर्ड जित्न सफल भएको भन्दै मन्थली नगरपालिका, परियार एकता समाज, मन्थली मावि, रामेछाप कला साहित्य प्रतिष्ठान, सुनचाँदी कला ब्यवसायि संघ, पञ्चेबाजा संरक्षण समाज र नेपाल कपडा तथा सिलाई ब्यबसायि संघले छुट्टा–छुट्टै प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको थिए ।

कार्यक्रममा बोल्दै बिजेता नेपालीले सबैको सहयोगका कारण आफूले यो सफता प्राप्त गरेकाले आगामी दिनमा पनि सबै जिल्ला बासीमा यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

सानै उमेर देखि लोक गीतसंगितमा रुची राख्ने नेपालीले २०६६ सालमा रामेछाप लोक तारा, २०७४ सालमा मेगा एकल लोक गाएन लगायतका प्रतियोगिताहरूमा प्रथम हुनुभएको छ । उहाँले अहिले सम्म ४ सय भन्दा बढी गीतहरूमा आवाज दिनुभएको छ ।