ग्राभेल हुँदै कृषि सडक


हिक्मत नेपाली, दैलेख ।
दैलेखको चुप्रा, कालभैरब बैकसम्मको कृषि सडकको ग्राभेलको कार्य अघि बढेको छ । कर्णाली प्रदेश सरकारले उक्त सडक ग्राभेल योजनाका लागि चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

सडक ग्राभेलसँगै कच्ची नाला निर्माण गरिनेछ । उक्त सडकको ग्राभेल गर्ने जिम्मेवारी यहाँका चार वटा कृषि सहकारीलाई संयुक्त रुपमा प्रदान गरिएको बताईएको छ । सोमवार कर्णाली प्रदेश सभा सदस्य शुसिल थापाले सडक ग्राभेल कार्यको उद्घाटन गर्नुभएको छ । उहाँले मेसिन चलाएर सडक ग्राभेल कार्यको उद्घाटन गर्नुभएको हो ।  स्थानीयको सहभागितामा सडक ग्राभेल कार्यको उद्घाटन गरिएको हो ।

उद्घाटन गर्नुहुँदै प्रदेश सभा सदस्य थापाले सडक ग्राभेलको नाममा ग्राभेल मात्र नभई गुणस्तरिय काम गर्न कृषि सहकारीहरुलाई सुझाव दिनुभयो । सडक ग्राभेलसँगै बाह्रै महिना यातायातका साधनहरु संचालन गर्न सकिने अपेक्षा स्थानीयले लिएका छन् । दैलेख क्षेत्र नं. २ को प्रदेश (क) को समग्र विकास गतिवीधी र कर्णाली प्रदेश सरकारबाट गरिएको बजेटका विषयमा जानकारी दिनुहुँदै प्रदेश सभा सदस्य थापाले यस क्षेत्रका सात वटा क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । ‘सडक, खानेपानी, पर्यटन, शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको छु,’ उहाँले भन्नुभयो ‘दुल्लु अस्पतालाई प्रदेश अस्पतालको रुपमा विकास गर्न पहल थालेका छौ ।’

यस क्षेत्रमा रहेका १० वटा सामुदायिक विद्यालयमा चालु आर्थीक बर्षमा विशेष बजेटको व्यवस्थापन गरिएको थापाले बताउनुभयो । ती विद्यालयमा प्रदेशकै पहिचान झल्कने आधुनिक किसिमको विद्यालय निर्माण गर्न लागिएको उहाँको भनाई छ । दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा अत्याधुनिक नर्सरी बनाउने योजना अघि सारेको उहाँले बताउनुभयो । यहाँका नागरिकहरुको जीवन स्तर उकास्नका लागि आयमुलक कार्यक्रम संचालनमा ल्याईने प्रदेश सभा सदस्य थापाको भनाई छ ।