प्रदेश– ५ को राजधानी टुंगो लगाउने प्रयास औपचारिकताका लागि मात्रैः सभामुख


यमलाल भुसाल, बुटवल ।
प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशको राजधानी र नामाकरणका लागि अहिलेसम्म भएका कामहरु औपचारिकताका लागि मात्रै गरिएको बताउनु भएको छ । सोमबार प्रदेश सभा सचिवालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले प्रदेशको नाम र राजधानी टुंगो लगाउने काम राजनीतिक बिषय भएकाले राजनीतिक निर्णयले मात्रै यसको छिनोफानो हुने बताउनु भएको हो । उहाँले भन्नुभयो–‘प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने काम आफैमा राजनीतिक बिषय भएकाले यी सबै औपचारिकताका लागि मात्रै हुन् ।’

प्रदेश सभाले राजधानीको नामाकरण र स्थान छनौट गरि सिफारिसका लागि बिशेष समिति बनाएको थियो । उक्त समितिले प्रदेशका १२ वटै जिल्लामा पुगेर सुझाव लिईसकेको छ ।

त्यस्तै उक्त समितिले विज्ञको सुझाव लिएर सरकारलाई नाम र स्थान सिफारिस गर्ने तयारी गरिरहेका बेला सभामुख घर्तीले यी सबै काम औपचारिकताकालागि मात्रै भएको प्रतिक्रिया दिनुभएको हो ।

उक्त बिशेष समितिले भौगोलिकता, सुरक्षा, पूर्वाधार लगायतका आधारमा कहाँ राजधानी उपयुक्त हुन्छ ?, नाम के राख्दा राम्रो हुन्छ भन्ने बिषयमा परामर्श लिन बिज्ञसंग अन्तरक्रियाको तयारी गरेको छ ।

प्रदेश सभाको तेस्रो अधिवेशन सकिँदासम्म पनि राजधानीलाई प्रतिष्ठाको बिषयसंग जोडिएका कारण टुंगो लाग्न सकिरहेको छैन । प्रदेशको राजधानी र नाम टुंगो लगाउने प्रदेश सभाले भएपनि बहुमत सदस्य बुटवलको पक्षमा भएका कारण सरकारले प्रदेश सभा बैठकमा प्रस्तावसम्म लैजान सकेको छैन ।

सभामुख घर्तीको भनाईले पनि प्रदेशको स्थायी राजधानी र नामाकरण आफ्नो पक्षमा पर्ने नदेखिएकाले आलटाल भएको बुझ्न गाह्रो छैन । राजनीतिक रुपमा सहमति हुने हो भने राजधानी र नाम टुंगो लगाउने बिषयमा कुनै समस्या नभएको सभामुख घर्तीले बताउनु भयो ।