२७ विद्यालयका छात्रालाई सेनेटरी प्याड सम्बन्धि तालिम सञ्चालन


धनवीर दाहाल, रुकुम ।
महिनावारी हुँदा छात्रा विद्यालयमा उपस्थित नहुने तथा कक्षा छाडेर जाने परम्पराको अन्त्य गर्नका लागी रुकुम पश्चिममा छात्राहरुका लागी प्याड निर्माणको तालिम संचालन गरिएको छ ।

विद्यालयका शिक्षिका र छात्राका लागी सेनेटरी प्याड बनाउने तालिम संचालन गरिएको हो । रुकुम पश्चिमका मुसीकोट नगरपालिकाका १४ वटै वडाका २७ वटा विद्यालयका शिक्षिका र छात्रा महिनावारी भएको बेला प्रयोग गरिने सेनेटरी प्याड निर्माण गर्ने तालिममा सहभागि भएका छन् ।

मुसीकोट नगरपालिकाका २७ जना शिक्षिका र १ सय ३५ जना छात्रा गरी जम्मा १ सय ६२ जनाले सेनेटरी प्याड निर्माण सम्वन्धी तालिम सिक्ने मुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनार केसीले जानकारी दिनुभयो । उपप्रमुख सुनारका अनुसार तालिमले किशोरीहरुलाई शिक्षा आर्जनमा सहयोग पुग्नेछ ।

महिनावारीको समयमा विद्यालयमा छात्राहरु अनुपस्थित हुने तथा कक्षा छोड्ने क्रम बढेपछि मुसीकोट नगरपालिका यस्तो अभियान सुरु गरेको हो । पहिलो चरणमा मुसीकोट नगरपालिकाका ७ वटा विद्यालयबाट तालिम सुरु गरिएको छ ।

सोमबार मुसीकोट नगरपालिकाको त्रिभुवन जनता माध्यामिक विद्यालयमा ७ वटा विद्यालयका छात्रा र शिक्षिका सहभागी रहेका छन् । पहिलो पटक सेनेटरी प्याड निर्माण गर्ने तालिममा सहभागी भएपछि खुसी भएका छन् ।