एन्फा डे मा उत्कृष्टहरु पुरस्कृत

0
Shares

काठमाडौं, (नेस)

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा डे को अवसर पारेर फुटबलका उत्कृष्टहरुलाई पुरस्कृत गरेका छन् ।

एन्फाले पहिलो पटक आयोजना गरेको एन्फा डे को अवसरमा विभिन्न ११ विधामा अवार्ड प्रदान गरिएको हो । आइतबार सम्पन्न एक भब्य कार्यक्रमबीच नेपालको राष्ट्रिय फुटबल टिमका सदस्यद्वय जुमानु राई र अनु लामालाई एन्फाले विशेष योगदानको अवार्डबाट सम्मानित गरेको छ ।

जुमानुलाई पुरुष र अनुलाई महिलातर्फ सम्मान गरेको हो । विशेष योगदान अवार्ड पाएक दुवै खेलाडीले नगद १५–१५ लाख प्राप्त गरे छन् । जुमानुले एक थान मोटरबाइक र अनुले एक थान स्कुटर प्राप्त गरिन् । महिला राष्ट्रिय टोलीका कप्तान समेत रहिसकेकी अनुले नेपालका लागि खेल्दै ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् । उनी विभागीय टोली एपीएफकी कप्तान हुन् । जुमानुले पनि पुरुष राष्ट्रिय टोलीका लागि खेल्दै ११ गोल गरेका छन् ।

यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्डबाट भगिरथ आले मामा सम्मानित भएका छन् । उनले नगद ३ लाख ५० हजार र मोटरबाइक प्राप्त गरे । यसैगरी विदेशमा खेल्ने उत्कृष्ट व्यवसायिक खेलाडीतर्फ किरण चेम्जोङ र रोहित चन्दले अवार्ड पाए । महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक तथा राष्ट्रिय टिम पूर्व कप्तान हरि खड्काले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए । उनले अवार्डसँगै १ लाख र मोटरबाइक हात पारे ।

यसैगरी उदीयमान खेलाडीको अवार्ड मञ्जलीकुमारी योन्जन र अभिषेक रिजालले पाएका छन् । राष्ट्रिय टोलीका पूर्व कप्तान मणिविक्रम शाहको स्मृतिमा दिइएको उदयीमानतर्फको अवार्ड पुरुषतर्फ अभिषेक रिजाल र महिलातर्फ मन्जली कुमारी योन्जनले हात पारे । मन्जलीले स्कुटर र १ लाख रुपैयाँ प्राप्त गरिन् । यस्तै पुरुषतर्फ अवार्ड पाएका अभिषेक रिजालले मोटरबाइक र १ लाख रुपैयाँ प्राप्त गरे । नेपाल पुलिस क्लबमा पछिल्लो सिजन खेलेका उनले हाल मनाङबाट खेलिरहेका छन् । अभिषेक राष्ट्रिय यू–२३ टोलीका पनि सदस्य हुन् ।

उत्कृष्ट रेफ्रीमा पुरुषतर्फ लव खत्री तथा महिलामा अस्मिता मानन्धर सम्मनित भए । उत्कृष्ट जिल्ला फुटबल संघको अवार्ड साफ च्याम्पियनसिप आयोजना गरेको मोरङ जिल्ला फुटबल संघ भयो । यस्तै उत्कृष्ट क्लबको अवार्ड ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबले प्राप्त ग¥यो । मनाङ नेपालबाट एएफसी कप खेल्ने पहिलो क्लब समेत बनेको छ ।