च्यासललाई चन्द्रागिरी गोल्डकपको उपाधि

0
Shares

काठमाडौं, (नेस)

भ्याली च्यासल युथ क्लबले दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

चन्द्रागिरीस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको फाइनलमा च्यासलले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी सरस्वती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि विजेता बनेको हो । च्यासललाई उपाधि दिलाउन वैकल्पिक खेलाडी म्याक्सवेल एलोन र जुनियरले समान एक–एक गोल गरेका थिए । म्याक्सवेल दोस्रो हाफको सुरुमै अर्मान्डको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि च्यासलले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेलको ५५औं मिनेटमा म्याक्सवेलले हेडमार्फत सुन्दर गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । यसैगरी ७१औं मिनेटमा जुनियरले गोल गर्दै च्यासलको दोस्रो गोल सम्भव पारे ।

खेलको ६३औं मिनेटमा सरस्वती १० खेलाडीमा समेटिएको थियो । विशाल मगरले दोहोरो पहँेलो कार्ड बेहोरेपछि सरस्वती १० जनामा खुम्चिएको थियो । च्याम्पियन बनेसँगै च्यासलले ६ लाख तथा उपबिजेता सरस्वतीले ३ लाख रुपैया प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई भने समान ३० हजार प्रदान गरियो ।

प्रतियोगिताको विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, आयोजक दीपशिखा युवा समूहका ंअध्यक्ष रवि बुढाथोकी र प्रतियोगिता संयोजक रमेश बुढाथोकी, मुख्य प्रायोजक रोज बहिनी सिर्जनशील समूहका अध्यक्ष लगायतले पुरस्कृत गरे । १५ बैशाखबाट शुरु भएको प्रतियोगितामा आयोजक दीपशिखा युवा समुहसहित विभिन्न ८ टोलीको सहभागिता रहेको थियो ।