नदीजन्य पदार्थको स्टक व्यवस्थापन गर्न निर्देशन

0
Shares

हेटौंडा,(नेस)
मकवानपुरमा नदीजन्य पदार्थको स्टक व्यवस्थापनमा स्थानीय तहले ध्यान नदिएको भन्दै त्यसको व्यवस्थापन गर्न निर्देशन दिइएको छ । शुक्रबार जिल्लास्तरीय ढुंगा, गिट्टी, बालुवा अनुगमन तथा समन्वय समितिको बैठकले नदीजन्य पदार्थको स्टक व्यबस्थापन गर्न निर्देशन दिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख तथा जिल्लास्तरीय ढुंगा, गिट्टी, बालुवा अनुगमन तथा समन्वय समिति संयोजक रघुनाथ खुलालको सभाध्यक्षतामा बसेको बैठकले आर्थिक वर्षको अन्त्य हुन लागेको अवस्थामा स्टक व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

स्थानीय तहले ठेक्का लगाएको मितिदेखि जेठ मसान्तसम्म उत्खनन् गर्न पाउने तथा स्टक प्रमाणित गर्नुपर्ने भएकाले स्टक व्यवस्थापन गर्न निर्देशन दिइएको हो ।

नदीजन्य पदार्थ घाटगद्दी गरेरमात्र बिक्री बितरण गर्ने प्रणाली विकास गर्ने र ठेक्का अवधि सकिएपछि घाटगद्दीमा रहने पदार्थ स्वतः सम्बन्धित स्थानीय तहको हुने व्यवस्था कार्यान्वयनमा ल्याउने व्यवस्था सम्बन्धित स्थानीय तहले मिलाएर स्टक परिमाण नियमानुसार आवश्यक व्यवस्थापन र कर संकलन सम्बन्धित कार्य गर्न कार्यविधिअनुसार अनुगमन समितिमा पठाउने व्यबस्था मिलाउन निर्देशन दिइएको खुलालले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउ“पालिका अध्यक्ष एकराज उप्रेती, राक्सिराङ गाउ“पालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्ला समन्वय अधिकारी कपिलप्रसाद उपाध्यायलगायतको उपस्थिति थियो ।