समाज सुधारकलाई राज्यले उचित सम्मान दिनु पर्छः देउवा


ज्ञानमणि नेपाल कालोटोपी, काठमाडौँ ।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समाजका पथप्रर्दशकहरुलाई राज्यले उचित सम्मान दिनु पर्ने बताएका छन् ।
राजधानीका शनिबार आयोजित टंकनाथ शास्त्री निष्ठाका नौ दशक पुस्तकको लोर्कापण गर्दै उनले सो कुरा बताएका हुन् । काभ्रे जिल्लाको मण्डनभेगस्थित चण्डेनीमण्डनमा जन्मिएर त्यसक्षेत्रका साथै समग्र काभ्रे जिल्ला र देशकै शिक्षाक्षेत्रमा उल्लेखनिय योगदान दिन सफल व्यक्तित्व टंकनाथ शास्त्री (नेपाल) एक कुशल शिक्षासेवी हुन् ।

उनले शिक्षाका अतिरिक्त राजनिती र समाजसेवाका अन्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका थिए । उनै समाज सुधारक शास्त्रीको जीवनीमा आधारित पुस्तक शनिबार देउवाले विमोचन गरेका हुन् । सोहि सन्दर्भमा पूर्वप्रधानमन्त्री देउवाले टंकनाथ शास्त्री जस्ता समाजसेवी गाउँसमाजमा अझै लुकेर बसेकाले त्यस्ता व्यक्तिहरुको योगदानलाई हामीले भुल्न नहुने बताएका हुन् ।

शनिबारको कार्यक्रममा राजनिती भन्दा फरक विषयमा केन्द्रित रहेका देउवाले काभ्रे जिल्लाका समाज सुधारक टंकनाथ शास्त्रीलाई आफूले पनि राम्ररी चिनेको र उहाँले देखाउनु भएको बाटो आफ्नो लागि पनि एउटा ज्ञान र अनुभवको बाटो रहेको समेत बताए ।

तत्कालिन राणाशासनकाल र पञ्चायतकालमा समाजसेवा गर्न र शिक्षालयहरु खोल्न अहिले जस्तो सजिलो थिएन । तैपनि टंकनाथ शास्त्रीले आफूले ठूलो चुनौती मोलेर पहिले आफू शिक्षित बन्नु भयो र अरुलाई पनि शिक्षाको उज्यालो देखाउनु भयो भन्दै देउवाले उहाँको योगदान काभ्रे जिल्लाका लागि मात्रै नभएर समग्र नेपालको लागि नै अमुल्य रहेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री एवं साहित्यकार प्रदिप नेपालले टंकनाथ शास्त्री जस्ता समाज सुधारकको जति चर्चा गरेपनि अपुग हुने विचार व्यक्त गरेका थिए । टंकनाथ जुन राजनितीक आस्थासँग रहेपनि उहाँको योगदान शिक्षा र समाजसेवामै उल्लेख्य रहेको नेपालले चर्चा गरे । कृति माथी समिक्षा गर्दै साहित्यकार डा. तुलसी भट्टराई र केशव थापाले समाजसेवा आफैंमा निकै चुनौतीपूर्ण रहेकाले टंकनाथ शास्त्रीले चाल्नु भएको कदम आफैंमा उल्लेख्य रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्वकेन्द्रिय सदस्य रामचन्द्र तिवारी, काँग्रेस काभ्रेका नेता इन्द्रमणी अधिकारी, नेपाली काँग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्य , नेपाल वंशज परिषदका पूर्वअध्यक्ष खेमराज नेपाल , समाजसेवी केशव थापा , पूर्वसांसद तिर्थ लामा लगायतले टंकनाथ शास्त्रीको योगदानको चर्चा गरेका थिए । कार्यक्रम योगमाया टंकनाथ प्रतिष्ठानले आयोजना गरेको थियो ।