१ सय ८ आमालाई चाँदीको औंठी


हेटौंडा ।
मातातीर्थ औंशीको अवसर पारेर मकवानपुरमा १ सय ८ आमालाई चाँदीको औंठी उपहारसहित सम्मान गरिएको छ । मनहरी गाउँपालिका–८ स्थित आमाघर आश्रमले आमाहरुलाई सम्मान गरेको हो ।

आश्रमले उपलब्ध गराएको उपहारमा कागिँयो, कपालमा लगाउने तेल, लोसन, पाउडर, नेलकटर, लिपगार्ड, टीका, कपालमा लगाउने काँटा, रुमाल, तौलिया, छाता, थर्मस, पानीको बोतल, मोजा, पर्स, ब्रस, साडी, चाँदीको औंठी, कम्बल, गुलाबको फूल, उपहार राख्ने ब्याग, अभिनन्दनपत्र लगायत सामग्री राखिएको किटबक्स थियो । शृंगारपटार गरिएका आमाहरुलाई मञ्चमा राखी सम्मान गरिएको थियो ।

सम्मान समारोहमा प्रदेश–३ प्रमुख अनुराधा कोइरालाले आमा भगवान्को रुप भएको बताउनुभयो । उहाँले सन्तानका समस्या समाधानमा आमाको भूमिका हुने भन्दै आमा र भगवान् एकै भएको रुपमा ब्याख्या गर्नुभयो ।

कार्यक्रममा व्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक एवम् मनहरी पिसपार्क संरक्षक राजयोगिनी रादादीजी, चलचित्र नायक एवम् निर्देशक निखिल उप्रेती, मिस नेपाल–२०१८ शृंखला खतिवडा, फिलिपिन्सकी राजकुमारी अफिनिता चाइचानालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सभामुख सानुकुमार श्रेष्ठ, प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, सांसद् मुनु सिग्देल, जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनी र मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलगायतको उपस्थिति थियो ।