छिमेकी गाउँसंग सिमेन्टले जोडिँदै हेटौंडा


हेटौंडा ।
मकवानपुरको सदरमुकाम हेटौंडा छिमेकी गाउँपालिकासँग सिमेन्टले जोडिँदैछ । पछिल्लो समय हेटौंडा–मकवानपुरगढी वडा नम्बर–५, आमभञ्ज्याङ पनि पक्की सडक सञ्जालले जोडिँदै गएको हो । सदरमुकाम हेटौंडाबाट सबभन्दा नजिकको गाउँपालिकाको आमभञ्ज्याङ पक्की सडकले जोडिँदै गएको छ ।

हेटौंडाको बुद्धचोकबाट गढीको धादिङसम्म पुग्न करिब ९ किलोमिटर सडक छ । तर, वर्षौदेखि कच्ची सडकका कारण स्थानीयले निकै समस्या झेल्नु परेपछि बल्ल पक्की सडकले जोडिँदै गएको छ ।

हेटौंडाबाट आमभञ्ज्याङ जोड्ने बासुदेव मार्गलाई पक्की सडकले जोड्न तीनै तहका सरकारले बजेट छुट्याएका छन् । मकवानपुरगढी गाउँपालिका, प्रदेश–३ सरकार र संघीय सरकारको बजेटबाट हेटौंडाबाट आमभञ्ज्याङ पक्की सडक जोड्न एक वर्षबीच तीन करोड ८६ लाख खर्च गरिएको छ । यसअघिका वर्षमा पनि सडकमा स्ल्याब ढलानका लागि सरकारले सहयोग गरेका छन् ।

हेटौंडा हुँदै सामरी पुलसम्म त्रिभुवन राजपथको पिच सडक पहिले नै निर्माण भएको थियो । सामरी पुलबाट बुङ्दलसम्म जाने सडकको प्रदेश सरकारको ५० लाख लागतमा ४ सय ८३ मिटर लम्बाई सडकमा स्ल्याब ढलान गरिएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बताउनुभयो । सात मिटर चौडाईंको स्ल्याब ढलानपछि सवारीसाधन गुड्न थालेका छन् ।

भीमफेदी गाउँपालिकाको बुङ्दलमा गाउँपालिकाको एक सय ३० मिटर लम्बाई सडक स्ल्याब ढलान गरिएको छ । १२ लाख लागतमा सडक निर्माण गरिएको हो । गढी गाउँपालिका–५, बुङ्दल पुलबाट बनको बाटोमा पनि स्ल्याब ढलान तयारी गरिएको छ । संघीय सरकारको एक करोड ७५ लाख लागतमा बनको सडकमा ७ सय मिटर सडक स्ल्याब ढलान तयारी गरिएको गाउँपालिका अध्यक्ष हुमागाईंले बताउनुभयो ।
गढी–५, सिमल्टारमा गाउँपालिकाको २५ लाख लागतमा सडक निर्माण गरिएको छ । गढी–६, बागदलीमा गाउँपालिकाको २४ लाख लागतमा सडक स्ल्याब ढलान हुन लागेको छ ।

हेटौंडा–आमभञ्ज्याङ सडकखण्डमा वर्षा सुरु हुनेबित्तिकै बस, ट्रक र साना सवारीसाधन जान सधैंको समस्या थियो । सामरी, बुङ्दल र ज्यामिरे खोला उर्लिएर आएपछि खोला तर्न समस्या थियो । तर, हाल सडक पक्की हुन थालेपछि समस्या हल हुँदै गएको छ ।

सडकमा हिउँद लाग्नेबित्तिकै एउटा सवारीसाधन अगाडि लाग्यो कि पछाडिकाले छारो, धुलो खानुपर्ने समस्या थियो । अब सडक पक्की भएपछि समस्या पनि समाधान हुने भएको छ । धेरै स्थानमा सडक पिच भएपछि हेटौंडा बजारबाट आमभञ्ज्याङ घर जान सहज भएको स्थानीय बताउँछन् ।

मकवानपुरगढी–५ आमभञ्ज्याङको ज्यामिरे खोलामा पुल निर्माणका लागि संघीय सरकारले टेण्डर निकालिसकेको छ । पुल नहुँदा वर्षामा गाउँ र शहरको सम्बन्ध टुट्ने गरेको थियो । खहरे खोला भएकाले सवारीसाधन ओहोरदोहोर गर्न बाढीका कारण पर्खनुपर्ने बाध्यता थियो ।
पुल निर्माण गरिने भएपछि उक्त समस्या हल हुने अध्यक्ष हुमागाईं बताउनुहुन्छ । ३ करोड ८६ लाख लागतमा ज्यामिरे खोलमा पुल निर्माण गर्न लागिएको छ । टेण्डरमार्फत् पुल निर्माणको अन्तिम तयारी भइसकेको छ ।