क्याम्पस प्रमुखको कुर्सी जलाएको काण्डमा स्ववियुका तीन जना शंकाकाे घेरामा


लमजुङ ।
लमजुङको एक क्याम्पसका प्रमुखको कुर्सी जलाएको घटनामा स्ववियुका तीन जना संलग्न रहेको खुलासा भएको छ । शुक्रबार बेसीसहरस्थित मस्र्याङदी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापा बस्ने कुर्ची जलाएको घट्नामा स्ववियुका पदाधिकारी मुचिएका हुन् ।

उच्च माध्यमिक शिक्षा परिषद्द्वारा सञ्चालन गरिएको कक्षा– १२ को परीक्षा दिएर कक्षा कोठाबाट बाहिरिँदै गर्दा आफ्नो साथबाट चिट खसेको देखेपछि क्याम्पस प्रमुख हरिबाबु थापाले आफूलाई कुटपिट गरेको सञ्जय भट्टले बताएका थिए । तर सो प्रकारणसँग क्याम्पस प्रमुखको कुर्सी जलाएको घट्ना नजोडिएको क्याम्पसका सञ्चालकहरूको भनाई छ ।

विहानमा पढाई हुने उक्त क्याम्पसमा विहानकै समयमा परीक्षा हुने गरेको थियो । तर दिउँसो क्याम्पस बन्द भई प्रमुखको कोठामा लगाएको ताल्चा समेत फोडेर प्रमुखको कुर्सी, नाम प्लेट जलाउने, एउटा झ्यालको सिसा ढुंगाले हानी फोर्ने र एउटा टि टेबुलसमेत फार्ने काम गरिएको रहेछ सो क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरि बरालले बताउनु भयो । उहाँका अनुसार त्यस घट्नामा स्ववियुका निवर्तमान सभापति देवेन्द्र गुरुङ, कोषाध्यक्ष कुमार अर्याल र सदस्य नवीन विकको नेतृत्वमा सो कार्य भएको बुझिएको छ । स्ववियु्का सभापति सञ्चालक समितिको पदेन सदस्य समेत रहने व्यवस्था छ । तर त्रिविले स्ववियुको निर्वाचन घोषणा भएको अवस्थामा उनको पद समाप्त भएको र उनको पढाई समेत सकिएको अवस्था रहेको बरालको भनाई छ ।

चिट काण्ड र कुर्सी जलाएको काण्डका विचमा केही सम्बन्ध नभएको बुझिएको भन्दै स्ववियुका सभापति गुरुङ विगतमा तीन पटकसम्म चिट चोरेको अवस्थामा फेला परेको पछि रेस्टिकेट भएका व्यक्ति भएको र उनले क्याम्पस प्रमुखसँग बदला लिनका लागि कुर्सी जलाएको हुन सक्ने बुझिएको बरालको भनाई छ । उहाँका अनुसार चिट फेला परेका व्यक्तिको जम्मा एक विषय त्यही दिनको मात्र परीक्षा दिन आएको र फेरि सम्पर्कमा नआएको बुझिएको छ ।

चिट फेला परेपछि रेस्टिकेट गर्नुभन्दा उनलाई होसियार हुनका लागि एक थप्पड दिन उपयुक्त देखेर आफूले चिट लिने विद्यार्थीलाई एक लपेटो लगाएको क्याम्पस प्रमुख हरिबबाबु थापाले बताउनु भयो ।

विद्यार्थीलाई कुटेका कारण आक्रोसित विद्यार्थीले कार्यालय तोडफोड गरी क्याम्पस प्रमुख थापाको कुर्ची र नेमप्लेट जलाएको क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनका सभापति देवेन्द्र गुरुङको भनाई छ । अनेरास्ववियुका विद्यार्थी नेता समेत रहेका गुरुङले कुनै संगठनले नभई विद्यार्थीले तोडफोड गर्नुका साथै कुर्ची र नेमप्लेट जलाएको दावी गर्नु भयो ।

सो घट्नामा नेविसंघको संलग्नता नरहेको मस्र्याङदी क्याम्पस इकाई सभापति सन्दीप गुरुङले बताउनु भएको छ ।
सो सम्बन्धमा प्रहरी निरीक्षक बसन्त पाण्डेले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

भोलि बस्ने सञ्चालक समितिको बैठकमा सबै पक्षलाई बोलाइएको छ । त्यसबाट के गर्ने भन्ने निर्णय हुन्छ होला अहिले थप नबोलौं सञ्चालक समितिका अध्यक्ष बरालले बताउनु भयो ।