म्यान्मारको सैनिक हिरासतमा ६ मारिए


नोमपेन्ह, (एजेन्सी)
म्यान्मारको सेनाले रखायन राज्यको एउटा गाउँमा हिरासतमा लिइएकामध्ये कम्तीमा ६ जनालाई गोली हानी मारेको शुक्रबार दाबी गरेको छ। सेनाको प्रवक्ताले ती निहत्था कैदीहरुले त्यहाँ तैनाथ सैनिकहरुको हतियार लुट्न खोजेपछि बाध्य भएर गोली चलाउनुपरेको जनाएका छन्।

जनजाति रखाइन बौद्धमार्गी लडाकूहरूको समूह अराकान आर्मीसँग सम्बन्ध रहेको आशंकामा ती व्यक्तिसँग हिरासतमा सोधपुछ गरिँदै गर्दा सो घटना घटेको हो। पछिल्लो समयमा सरकारी फौज र लडाकूबीच भएको भिडन्तको दौरान करिब ३० हजार विशेषतः बौद्ध समुदायका व्यक्तिहरु विस्थापित हुन पुगेका थिए।

विविध जातीय समुदायले भरिएको म्यान्मारमा थुप्रै लडाकू छन्। पछिल्ला केही वर्षमा सरकारी फौजको दमनको कारण रखाइन राज्यबाट लाखौं अल्पमत मुस्लिम समूह रोहिंग्या छिमेकी मुलुक बंगलादेशतर्फ भागेपछि अन्तर्राष्ट्रिय जगत्ले शान्तिका लागि नोबल पुरस्कार विजयी तथा प्रजतन्त्र सेनानी आङ सान सुकीलगायत म्यानमार सरकारको व्यापक आलोचना गरेको थियो। अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले सुकीलाई दिइएको पुरस्कारसमेत फिर्ता लिएको थियो। अन्य अल्पमत लडाकू समूहहरू पनि सरकारी फौजसँग भिड्ने गरेका छन्।

अहिले पत्रकारहरूलाई उत्तरी रखाइनमा जान दिइएको छैन। रोहिंग्यामाथि सरकारी फौबाट हुने गरेको अन्याय र दमनबारे स्थलगत समाचार संकलनमा लागेका रोयटर्स समाचार निकायका २ पत्रकारलाई मयान्मार सरकारले थुनामा राखेको छ।

सैनिक प्रवक्ता ब्रिगेडियर जनरल ज मिन तुनले राथेदाउङ शहरको क्याउक तान गाउँको सो विद्यालयमा २ सय ७५ जनालाई हिरासतमा राखेर अनुसन्धान हुँदै गरेको जानकारी एएफपीलाई दिएका छन्। उनले बिहीबार बिहान सबेरै ती कैदीहरू सेनामाथि आइलागेपछि गोली चलाउनुबाहेक अरू विकल्प नरहेको पनि जानकारी गराएका छन्।

उनले चेतावनी स्वरूप पहिले हवाई फायर गरिएको र स्थिति अनियन्त्रित हुनथालेपछि भएको सुरक्षा कारबाही ६ जना मारिएको र अन्य ८ जना घाइते भएको तथा ४ जना फरार भएको पनि बताएका छन्।

तर यसरी मारिनेमध्येकी एक माग्नेकी पत्नीले तिनीहरु सबै बिनाकारण मारिएको बताएकी छिन्। पीडित परिवारहरुले आफन्तका लास विद्यालयबाहिर अलपत्र अवस्थामा फालिएको बताएका छन्। आर्थिकरूपमा निकै पिछडिएको पश्चिमी म्यान्मारको रखाइन राज्यमा केही वर्षयता संघर्ष र अस्थिरता जारी रहेको छ। संयुक्त राष्ट्र संघका अधिकारीहरुले म्यान्मारका सेनाले रोहिंग्याविरुद्ध युद्ध अपराध गरेको आरोप लगाउने गरेका छन्। तर सेनाले यो आरोप ठाडै अस्वीकार गर्दै आएको छ।