प्रदेश माहततमा आएपछि सेती अञ्चल अस्पताल अस्तब्यस्त


हेमन्त पौडेल, धनगढी,

धनगढीस्थित सेती अञ्चल अस्पताल अहिले संघीय सरकारबाट प्रदेश सरकार मातहत आएपछि झन खस्किएको छ । अस्पतालमा स्थापनाकालकै दरबन्दीअनुसारको जनशक्ति छैन । अस्पतालमा अहिले पनि स्थापनाकाल अर्थात २०४० सालको दरबन्धीको आधा पनि विशेषज्ञ डाक्टर छैनन् ।

स्थापनाकालमा ५० बेडको स्वीकृति पाएको सेती अञ्चल अस्पतालमा अहिले दुई सय ३० भन्दा बढी बेड सञ्चालनमा छन् । तर, स्वीकृति त्यही ५० बेडकै छ । त्यो बेला १९ जना विशेषज्ञ डाक्टरको स्वीकृति पाएको अस्पतालमा अहिलेसम्म त्यसको आधा पनि दरबन्दी पूरा हुन सकेको छैन । अञ्चल अस्पतालमा अहिले नौं जना मात्रै विशेषज्ञ डाक्टर छन् । अस्पताल स्थापना भएको ३५ वर्षसम्म पनि सुरुकै दरबन्दी पूरा हुन सकेको छैन ।

अस्पतालको भौतिक संरचना, बेड संख्या र जनसंख्याको अनुपातमा विरामीको संख्या चार गुणा बढेपनि सुरुमै तोकिएको जनशक्ति पनि पूरा हुन नसकेको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डाक्टर हेमराज पाण्डेले बताउनुभयो । उहाँले संघीय सरकार र प्रदेश सरकारसंग आग्रह गर्दा पनि कहिँ कतैबाट सुनुवाई नभएको बताउनुभयो ।

अहिले अस्पतालमा विशेषज्ञ डाक्टरहरुमा एक÷एक जना फिजिसियन, अर्थोपेडिक, गाइनोक्लोजिष्ट, बालरोग विशेषज्ञ, भिडियो एक्सरे विशेषज्ञ, सर्जन, नाक कान घाँटी रोग विशेषज्ञ, एनएसथेसियोलोजिष्ट गरि जम्मा नौं जना दरबन्दीका विशेष डाक्टर छन् ।

अस्पतालको बेड संख्या चार गुणा बढेपनि विशेषज्ञको दरबन्दी स्थापनाकालमा तोकेको दरबन्दीको आधा पनि पूर्ति हुन नसकेको भन्दै मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमराज पाण्डेले भन्नुभयो, ‘अहिले २०४० सालमा तोकिएको दरबन्दीको पनि चार गुणा बढी विशेषज्ञ डाक्टर हुनुपथ्र्यो, तर बिडम्बना त्यो बेलाको दरबन्दीको आधा पनि विशेषज्ञ छैन ।’ उहाँकाअनुसार अहिले अहिलेको अस्पतालको विरामीको चाप, बेड संख्यालाई हेर्दा ७० भन्दा बढी विशेषज्ञ आवश्यक हुनुपर्छ ।

तर, अहिले क्षेत्रीय स्तरको स्वास्थ्य सेवा दिइरहेको सेती अञ्चल अस्पताल नौं जना विशेषज्ञको दरबन्दीमा सञ्चालनमा छ । काम चलाउको अवस्थामा अहिले अस्पताल सञ्चालन भइरहेको छ । नौं जना विशेषज्ञसहित अहिले एमबीबीएस उत्तीर्ण गरेका गरेर ४० जना डाक्टरहरु रहेका छन् ।

प्रत्येक डिपार्टमा १६ जना एमबीबीएस डाक्टर र ३२ जना स्टाफ नर्श हुनुपर्छ तर, अहिले एक वार्डमा एक जना नर्शले हेर्नुपर्ने अवस्था छ । प्रस्तुतीगृहमा एक बेडमा दुई जना स्टाफ नर्सका हिसावले तीन बेड भएको वार्डमा प्रत्येक शिफ्टमा छ जना हुनुपर्छ । यस हिसावले प्रस्तुती गृहमा मात्रै २४ जना नर्सिङ स्टाफ हुनुपर्छ । जबकी अहिले गाइनो र प्रस्तुतीगृहमा गरेर जम्मा २० जना नर्सिङ स्टाफ रहेको गाइनो वार्डका इन्चार्ज यशोदा ढकालले बताउनुभयो । जसोजतो कम जनशक्तिले नै काम गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले भन्नुभयो, ‘अस्पतालको अवस्था के छ भन्ने नबुझेरै मानिसहरुले हामीहरुको नै खेदो खन्ने गर्छन् ।’

· सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले पनि मन्त्रीमा नियुक्त भएपछि अस्पताल गएर सफाई गरेको फोटो फेसबुकमा हाल्नुभयो उहाँले पनि दोहो¥याउनु भएन ।

· अस्पताल विकास समिति गठन नहुँदा अस्पतालको आर्थिक ब्यवस्थापन झन संकटमा परेको छ ।

· आइसियुमा नर्सिंग स्टाफ नहुँदा काममा बाधा ।

· अस्पतालका शौचालयमा पानी समेत नहँुदा दुर्गन्ध फैलियो । विरामी र कुरुवालाई सास्ती

· बारम्बार लिफ्ट विग्रदा स्वासप्रस्वासका विरामी मर्कामा ।

· अस्पताल स्थापनाको ३५ वर्ष पुग्दा पनि शुरुकै दरबन्दी पूरा हुन सकेको छैन ।

· विरामीको संख्या चार गुणा बढेपनि जनशक्तिको संख्या स्थापनाकालकै ।

· आइसियूमा चौविसै घण्टा डाक्टर हुनुपर्ने भएपनि त्यो व्यवस्था पनि अहिले छैन ।

· खानेपानीका लागि सबैसंग अनुरोध गरेको छौं कतैबाट पनि सुनुवाई नहुँदा के गरौं के गरौं भएको छ ।

अहिले अस्पतालमा अनमी र नर्श गरेर ६२ सम्म छन् । अहिलेको चापको आधारमा अस्पताललाई डेढ सय बढी नर्सिङ स्टाफहरु आवश्यकता रहेको मेडिकल सुपरिन्टेन्डेन्ट पाण्डेले बताउनुभयो । चार बेड भएको आइसियुमा पनि आधा मात्रै नर्सिङ स्टाफ छन् । एक बेडमा एक जनाका दरले प्रत्येक शिफ्टमा चार जना नर्सिङ स्टाफ आवश्यक पर्छ ।

तर, जम्मा आठ जना नर्सिङ स्टाफले आइसियुलाई समाल्न परिरहेको आइसियु वार्डका इन्चार्ज मञ्जु पौडेलले बताउनुभयो । उहाँले एक सिफ्टमा चार जनाका हिसावले १६ जना नर्सिङ स्टाफको आवश्यकता रहेको बताउनुभयो । आइसियूमा चौविसै घण्टा डाक्टर हुनुपर्ने भएपनि त्यो व्यवस्था पनि अहिले छैन । आवश्यक परेको बेला डाक्टर बोलाउनुपर्ने स्थिति छ ।

अस्पतालका यीनै वार्डमा नै आवश्यक जनशक्ति नहुँदा बढी समस्या देखिने गरेको छ । अहिले प्राप्त जनशक्तिले मात्रै काम गर्न निकै समस्या भइरहेको अस्पतालका मेसु डाक्टर पाण्डेले बताउनुभयो ।

अहिले पछिल्लो समयमा अस्पतालका पानीको पनि हाहाकार भएको छ । तल्लो तलादेखि माथिल्लो तलासम्म कतैपनि पानी छैन । अस्पताल परिसरमा झडै छ वर्ष अघि बनाइएको बोरिङ पनि सुकेपछि अस्पतालमा खानेपानी अभाव भएको हो । अहिले नेपाल खानेपानी संस्थान धनगढी शाखाले उपलब्ध गराएको पानी पनि अस्पताललाई प्राप्त नभएको मेसु पाण्डेले बताउनुभयो ।

‘अस्पतालमा अहिले पानी नभएर सबैभन्दा समस्या भइरहेको छ, उहाँले भन्नुभयो, ‘राति ट्यांकी भरिएको दुई तीन फीट पानी पनि विहान सफा गर्दै ठिक्क हुनथाल्यो ।’ उहाँले विगतमा संघको स्वास्थ्य मन्त्रालय र अहिले प्रदेश सामाजिक विकास मन्त्रालयमा पनि खानेपानी समस्याबारे जाहेर गरिरहेको बताउनुभयो । खानेपानीका लागि सबैसंग अनुरोध गरेको भन्दै मेसु डा. पाण्डेले भन्नुभयो, ‘कतैबाट पनि सुनुवाई हुन सकेको अवस्था छैन, के गरौं के गरौं भएको छ ।’

अस्पतालमा पानीको हाहाकार भएपछि विरामी पनि बाहिरबाट बोतलमा पानी ल्याएर सौचालय जान बाध्य भइरहेका छन् । ‘शौचालय पूरै प्रयोग गर्न सक्ने खालका छैनन्’ अस्पतालका उपचारका लागि आउनुभएका धनगढीका वडा नम्बर ८ का गीता खड्काले भन्नुभयो, ‘जानै परेर बाहिरबाट बोतलमा पानी ल्याउनुपर्छ, निकै समस्या छ ।’

उहाँलगायत अस्पतालका सबै विरामी र विरामीका कुरुवाहरुलाई पानी अभावमा समस्या खेप्नु परेको छ । अस्पतालमा पानी नभएर अस्पताल थप दुर्घन्धितसमेत भइरहेको छ । फोहोर फाल्ने ठाउँ पनि अव्यवस्थित छ । अस्पतालसंगै रहेको सडकमा हिड्न पनि नाक छोप्नुपर्ने स्थिति रहेको छ । अस्पतालको पूर्वतिर खुला र जथाभावी रुपमा फोहार फाल्दा संगै पारीपट्टी रहेको सामाजिक मन्त्रालयसम्म त्यसको दुर्घन्ध पुग्ने गर्छ ।

यसअघि संघीय सरकार मातहत रहेको अस्पताल प्रदेश मातहत आइसकेपछि अस्पताललाई व्यवस्थित गर्ने जिम्मेवारी पाएको सामाजिक मन्त्रालय अहिले कानमा तेल हालेर बसिरहेको सुदूरपश्चिमबासीको आरोप छ । मन्त्री भएपछि अस्पतालमै आई बेल्चा चलाएर सामाजिक सञ्जालमा छाउनुभएका सामाजिक विकास मन्त्री कृष्ण सुबेदी अस्पतालको अवस्थाबारे बुझ्न दोस्रो पटक अस्पताल छिर्नुभएको छैन । सेती अञ्चल अस्पतालकै एक कर्मचारीले भन्नुभयो, ‘मन्त्री ज्यूले अस्पतालमै आएर बेल्चा त चलाउनुभएको के–के गर्लान् भन्ने सोचियो, तर, अहिलेसम्म मुख देखाउनुभएको छैन ।’

सामाजिक विकास मन्त्री सुबेदी मात्रै नभई मुख्यमन्त्री त्रिलोचन भट्टसमेत दोस्रो पटक अस्पतालमा छिर्नुभएको छैन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको पदभार सम्हालेकै दिन मुख्यमन्त्री सिधै सेती अञ्चल अस्पतालमा पुग्नुभएको थियो । त्यसक्रममा उहाँले सेती अञ्चल अस्पताललाई स्तरोन्नति गर्दै सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने उद्घोष गर्नुभएको थियो । तर, उहाँले अस्पालको स्तरोन्नतिका लागि पहल थालेको बताएपनि परिणाम देखिएको छैन । मुख्यमन्त्री विरामी भएपछि सेती अञ्चल अस्पतालमा उपचारका लागि जानुभयो तर त्याहाको ब्यवस्थापन ठिक नभएकाले घरमानै डाक्टर बोलाएर उपचार गर्नुपर्ने अवस्था आएको थियो ।

अस्पतालको विकासको अवस्था के छ भनेर बुझ्ने प्रयास नगरेको अस्पतालकै कर्मचारीहरु बताउँछन् । अहिले सामाजिक विकास मन्त्रालयले कर्मचारीका नाममा चार जना अनमी, एक जना स्टाफ नर्श, ल्याब असिस्टेन्ट दुई जना र एक हेल्थ असिस्टेन्ट स्वयमसेवकको रुपमा पठाएको छ ।

अस्पतालको आम्दानी अस्पताल ब्यवस्थापन समितिको नाममा जम्मा भएको र समिति नबनेकाले सेती अञ्चल अस्पतालले अहिले आफै एक लाख रुपैयाँको सामग्री पनि किन्न सकेको छैन । पहिले करोड बजेटको सामान खरिद गर्ने अस्पतालले अहिले एक लाख रुपैयाँको सामान पनि खरिद गर्न सकेको छैन ।

सानो सानो सामान पनि सामाजिक विकास मन्त्रालयले आफै किन्ने गरेको छ । अहिले मन्त्रालयले ‘बी’ लेभलको एम्बुलेन्स खरिद गर्ने तयारी गरेको छ । तर, त्यो पनि पूरा हुन सकेको छैन । तर सेती अञ्चल अस्पताललाई ‘ए’ लेभलको डाक्टरसहितको एम्बुलेन्स आवश्यक रहेको अस्पतालका मेसु डाक्टर पाण्डे बताउनुहुन्छ । नयाँ निर्देशिकाअनुसार अञ्चल अस्पताललाई ‘ए’ लेभलकै एम्बुलेन्स आवश्यक रहेको उहाँको भनाई छ ।

६ महिनाभित्र अनुभूत हुने गरि काम गर्छौंः सचिव हमाल

सामाजिक विकास मन्त्रालयका सचिव ई.गोगनबहादुर हमालले सेती अञ्चल अस्पतालमा सेवाग्राहीले ६ महिनाभित्र अनुभूत हुने गरेर काम अघि बढाएको बताउनुभएको छ । रेडियो सुदूर सन्देशसंग विहीवार विहान कुराकानी गर्दै सचिव हमालले सो कुरा बताउनुभएको हो । सुदूरपश्चिम प्रदेशको रिफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पताको ब्यवस्थापनको विषयमा जनताले प्रश्न उठाएपछि सचिव हमालले त्यसको ब्यवस्थापनमा मन्त्रालय गम्भीर भएर लाग्ने बताउनुभयो । अस्पतालको फोर ब्यवस्थापनका साथै भौतिक संरचनाको निर्माणको कामलाई गति दिने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

सेती अञ्चल अस्पताको विकासका बारेमा मुख्यमन्त्री त्रिलोचन भट्ट र मन्त्री कृष्ण सुवेदी गम्भीर भएर लागि परेको उहाँले जानकारी गराउनुभयो । सेती अञ्चल अस्पतालमा पदाधिकारीको चयनमा भएको ढिलाईले पनि काममा केही प्रभाव परेको उहाँको भनाई छ । आफूले पनि अस्पतालको बारेमा समय समयमा छड्के जाँच गरेको प्रसंग उल्लेख गर्दै सचिव हमालले अस्पतालका लागि आवश्यक रकम दिन तयार भएको बताउनुभयो । अस्पतालका लागि आवश्यक पैसा दिन तयार भएपनि खर्च गर्ने संयन्त्र नभएकाले काममा ढिलाई हुने गरेको छ ।

अस्पतालको शौचालयको अस्तब्यस्तता,आईसियुमा नर्सिंग स्टाफ नहुँदा काममा परेको प्रभावका विषयमा जानकार रहेको भन्दै त्यसको ब्यवस्थापनका लागि समेत लागि रहेकाछौं उहाँले भन्नुभयो । अर्को आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका सवै जिल्ला अस्पतालमा एमडिजिपि र एमविविएस डाक्टरहरु राख्ने तयारीमा मन्त्रालय रहेको बताउनुभयो । केही दिन अघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सेती अञ्चल अस्पतालमा एमडिजिपि कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको सचिव हमालले बताउनुभयो ।