लुम्बिनी भ्रमण वर्षले भिजिट वर्षलाई सघाउने धारणा

0
Shares

हेटौंडा, (नेस)÷प्रदेश–३ का उद्योग, बन, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपालले लुम्बिनी भ्रमण वर्ष सफल बनाउन दिइने जिम्मवारी पूरा गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।

मन्त्री नेपालले समृद्ध नेपाल निर्माणका लागि सही भिजन आवश्यक रहेको भन्दै सही भिजनविना समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । उहाँले नेपालमा भिजन भन्दा भाषणको काम धेरै हुने गरेकोमा गुनासो गर्नुभयो ।

हेटौंडामा आयोजित पत्रकार भेटघाटमा मन्त्री नेपालले प्रदेश–५ ले लिएको लक्ष्य पूरा गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले लुम्बिनी भ्रमण वर्षको अभियान सबै नेपालीका लागि गर्वको विषय रहेकोले सबैले मिलेर यसलाई सफल पार्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले गौतम बुद्ध जन्मेको स्थान भएकोले विश्वसामु लुम्बिनी, लुम्बिनीको माटो र पानीलाई फैलाउनुपर्ने बताउनुभयो ।

मन्त्री नेपालले नेपालको विकासमा पर्यटनको योगदान सबभन्दा महत्वपूर्ण हुने बताउनुभयो । नेपालको पर्यटनमा लुम्बिनीको भूमिका महत्वपूर्ण भएको भन्दै मन्त्री नेपालले लुम्बिनी भ्रमणको निम्तोलाई सहर्ष स्वीकार गरिएको र भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री नेपालले बुद्ध जन्मस्थल लुम्बिनी प्रदेश–५ को मात्र नभएर नेपालकै महत्वपूर्ण धार्मिक एवम् साँस्कृतिक सम्पदा भएकोले सबै प्रदेश र संघीय सरकारले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताउनुभयो । सन् २०२० लाई भिजिट वर्षका रुपमा मनाउने तयारीका लागि लुम्बिनी भ्रमण वर्षले सहयोग गर्ने उहाँको विश्वास छ ।

प्रदेश–५ सरकारले बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने लक्ष्यसहित २०७६ साललाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने घोषणा गत वर्षको बजेटमा गरेको थियो । घोषणाअनुसार लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउन विभिन्न कार्यक्रम आयोजना हुने भएका छन् ।

वैशाख १ गतेदेखि नै लुम्बिनी भ्रमण वर्षको औपचारिक सुरु भए पनि कार्यक्रम उद्घाटन वैशाख पूर्णिमाका दिन र समापन २०७७ सालको वैशाख पूर्णिमाका दिन गर्ने गरी कार्यक्रम बनाइएको छ । लुम्बिनी भ्रमण वर्ष वैशाख १ बाट सुरु भए पनि कार्यक्रम उद्घाटन जेठ ४ गते हुने भएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रको पर्यटकीय विकाससँगै यी क्षेत्रमा बढीभन्दा बढी विदेशी, स्वदेशी र भारतीय पर्यटक भित्र्याउनु लुम्बिनी भ्रमण वर्षको मुख्य उद्धेश्य हो ।

लुम्बिनीबारे प्रचार प्रसारमात्र नभएर प्रवद्र्धनका विभिन्न कार्यक्रम र लुम्बिनीसहित अन्य बुद्ध जीवनीमा आधारित क्षेत्रको एकीकृत विकासका लागि पहलसमेत लुम्बिनी भ्रमण वर्ष कार्यक्रममार्फत् हुनेछ । कार्यक्रमले बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार भएर पर्यटक आगमन वृद्धि हुने अपेक्षा छ ।

सन् २०१८ मा लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको संख्या १ लाख ६९ हजारभन्दा बढी थियो । नेपाली पर्यटकको संख्या १२ लाख हारहारीमा थियो भने भारतीय पर्यटकको संख्या १ लाख ९२ हजार थियो ।