गाउँमै रेमिटेन्स सेवा

0
Shares

विनोद सिंह विष्ट, बैतडी
बैतडी तथा दार्चुलाका ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाहरुले रेमिटेन्स सेवा सञ्चालनमा ल्याएपछि स्थानीय नागरिकलाई सजिलो भएको छ । रोजगारीका लागि भारत तथा अन्य देशमा गएका स्थानीयहरुले गाउँघरकै सहकारीमा रेमिटेन्स पठाउन थालेपछि घरपरिवारका सदस्यहरुलाई सजिलो भएको छ ।
रोजगारीका लागि भारत गएकाहरुले गाउँघरमै पैसा पठाउन पाउँदा खुसी समेत भएका शिखर बीउ प्रवद्र्धन सहकारी संस्थाका अध्यक्ष देवदत्त भट्टले बताउनुभयो ।

विदेशबाट पठाएको रेमिटेन्स ल्याउनै लागि सदरमुकाम पुग्नुपर्ने स्थानीयहरुको बाध्यता हटेको छ । अक्सफाम नेपाल र ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज रुडेस बैतडीको आर्थिक सहयोग तथा प्रभु रेमिटेन्सको प्राविधिक सहयोगमा बैतडीका ८ र दार्चुलाको एक सहकारीले गाउँघरमै रेमिटेन्स सेवा शुरु गरेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो । गएको एक बर्षको अवधिमा सहकारीमार्फत ५ करोड रुपैया कारोबार भएको उहाँले बताउनुभयो ।

स्थानीयहरुले अहिले सहकारी मार्फत विद्युत महसुल, मोबाइलमा रिचार्ज लगायतका सुविधाहरु समेत प्राप्त गरिरहेका छन् ।

बैतडीका निङ्गलाशैनी बचत तथा ऋण सहकारी संस्था देहीमाण्डौं, शिखर बीउ प्रवद्र्धन सहकारी संस्था मुस्याचोर, उदयदेव महिला बचत तथा ऋण सहकारी संस्था पाटन, सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था खोड्पे, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था डुब्के, प्रगतिशील महिला बचत तथा ऋण सहकारी संस्था गाँजरी, शर्माली बचत तथा ऋण सहकारी संस्था शर्माली र जयमहाकाली बचत तथा ऋण सहकारी संस्था पञ्चेश्वरले रेमिटेन्स सेवा प्रदान गरिरहेका छन् ।

यस्तै दार्चुलाको शैल्यशिखरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले रेमिटेन्स सेवा सञ्चालन गरिरेहको छ । गाउँकै सहकारी संस्थाहरुले रेमिटेन्स सेवा सञ्चालनमा ल्याएपछि स्थानीयहरुले सजिलो भएको छ ।