अधिकाशं आयोजनाको भुक्तानी रोकियो

0
Shares

बुद्ध नेपाली, सिन्धुली
कर्मचारी समायोजनका कारण जनशक्ति कम हुँदा सिन्धुलीका स्थानीय तहहरुमा दैनिक कामकाज प्रभावित भएका छन् । समायोजमा कर्मचारीहरुले प्रदेश र संघ रोजेपछि जिल्लाका स्थानिय तह कर्मचारी विहीन हुदै दैनिक कामकाज प्रभावित भएका हुन् ।

स्थानिय तहमा कर्मचारी अभाव भईरहेका बेला समायोजनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको रोजाईमा प्रदेश र संघपर्दा जिल्लाका नौ वटै स्थानिय तहहरुमा अहिले अभाव माथि झन अभाव थपिएको छ ।

जिल्लाको विकट गाउपालिकाको रुपमा रहेको हरिहरपुरगढी गाउपालिकाले अहिले यस्तै समस्या व्यहोरहेको छ । गाउपालिकाका लेखापाल एक महिना देखि समायोजनमा प्रदेश रोजेर प्रदेश तिरै गएपछि गाउपालिकाको विभिन्न आयोजनाको भुक्तानी रोकिएको छ ।

गाउपालिकामा कार्यरत लेखापालन सन्जिब विशंखे समायोजनमा प्रदेश गएपछि गाउपालिकाका ८० ओटा भन्दा बढी आयोजनाहरुको भुक्तानी नै रोकिएको गाउपालिकाका अध्यक्ष कारसाङ लामाले बताउनुभयो ।‘लेखापाल समायोजनमा प्रदेश रोजेर गईहाल्नुभयो, लेखापालन नहुदाँ अहिले गाउपालिकामा लेखा सम्बन्धी सवै काम ठप्प भएको छ । उहाँको विकल्पमा जिम्मा लगाउने अरु कर्मचारी पनि छैन्न्’ उहाँले भन्नुभयो ।

कर्मचारी अभावले आर्थिक बर्ष २०७५।०७६ का निति तथा कार्यक्रम कार्यान्वयन र विनियोजित बजेट खर्चमा समस्या भईरहेका बेला झन लेखापालन नहुदाँ जनप्रनितिधि प्रति जनताको गुनासो बढ्दै गएको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘कर्मचारी अभावमै दुई बर्ष गईसक्यो । अव तिन बर्ष बाँकी छ । अझै कर्मचारी पर्याप्त छैन्न । चुनावमा भनेको प्रतिबद्धता पुरा गर्न अवको तिन बर्षमा मुस्किल पर्छ । दिनप्रतिदिन जनताको विश्वास घट्दैछ’ ।

लेखापालन नहुदाँ गाउपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक र दिवा खाजाको बजेट समेत वितरण गर्न नसकिएको उहाँले बताउनुभयो । लेखापालन नहुदाँ नयाँ शैक्षिक सत्रको बैशाख महिनाको अन्त्य तिर आईपुग्न लाग्दा पनि गाउपालिकाका सामुदायिक विद्यालयमा नयाँ पाठ्यपुस्तक वितरण गर्न नसक्दा विद्यालयको पठनपाठन समेत प्रभावित भएको उहाँले बताउनुभयो ।

दिवा खाजाको बजेट, गाउपालिकाका कर्मचारीकै बजेट समेत वितरण गर्न समस्या भएको उहाँको दुखेसो छ । हरिहरपुरगढी गाउपालिकामा प्राथमिक विद्यालय ३६, निम्न माध्यमिक विद्यालय ८ र माध्यमिक विद्यालय ८ गरी ५२ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । गाउपालिकामा लेखापालन नहुदाँ ती सवै विद्यालयमा अहिले सम्म पाठ्यपुस्तक पुग्न सकेको छैन् ।‘गाउपालिकामा निजामती कर्मचारीका प्रमुख प्रशासकीय अधिकृत बाहेक कोही कर्मचारी छैन्न । अति महत्वपुर्ण क्षेत्र विद्यालयमा पाठ्यपुस्तक समेत वितरण गर्न सकिएको छैन् । कहिले सम्म कर्मचारी अभाव खेप्नुपर्ने हो थाहा छैन् । काम गर्न नसकेर जनप्रतिनिधि भने जनताका तारो हुन थालिसक्यो’ उहाँले भन्नुभयो ।

विनियोजित बजेट खर्च गर्नुपर्ने अति महत्वपूर्ण समयमा लेखापालन नहुदाँ गाउँपालिकाको विकास बजेट खर्च हुन नपाई फ्रिज हुने डर बढेको उहाँले बताउनुभयो । लेखापालको माग गर्दै सम्बन्धित निकायमा पत्राचार गर्दा पनि अहिले सम्म कर्मचारी नपठाएको उहाँको गुनासो छ ।