पहिलो पटक वस पुग्दा पैसाको मालाले स्वागत

0
Shares

पाल्पा(नेस)

यस अघि जीप सेवा मात्रै संचालन भएको पूर्वी पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ६, अर्चलेमा पहिलो पटक बस पुग्दा स्थानीयले वसका चालक र सहयोगीलाई मगर परम्परा अनुसार पैसाको माला र अविर लगाइ स्वागत गरेका छन् । यस क्षेत्रमा मगर समुदायको वाहुल्य रहेको छ र मगर परम्परा अनुसार विवाह लगायत खुशीयालीका अवसरमा पैसाको माला लगाउने परम्परा रहि आएको छ ।

पश्चिमाञ्चल बस व्यवसायीद्वारा संचालित बस चालक लु १ ख ४६९७ नम्बरको बस लिएर अर्चले वडा कार्यालय सम्म पुगेका हुन् ।यस अघि पूर्वखोला गाउँपालिका वडा नम्बर १,सिलुवा हटिया बजार बाट ११ किलोमिटर दक्षिणी भेक रहेको अर्चलेमा यस अघि दैनिक एउटा जीप सदरमुकामबाट दिउँसो १ बजे र अर्चले बाट सदरमुकामका लागि बिहान ८ बजे छुट्ने गर्दथ्यो ।

बसलाई स्वागत गर्न पुलबजार,डियाङ्बारी,चिदिया,अर्चले बजार लगायतका विभिन्न ठाउँमा फूलमाला र अबिर लिएर स्थानीय बासिन्दाहरु बसेका थिए । बाटो साघुरो र अप्ठ्यारो रहेकोले हाललाई परिक्षणको रूपमा अर्चले सम्म पुर्याएको र केही दिनमै बाटो सुधार गरि नियमित बस सन्चालन गरिने वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभयो ।

बस वडा कार्यालय अगाडि देखे पछि अचम्म र खुशी लागेको हेर्न आउने स्थानीयहरुले बताएका छन् । उनीहरुले अवका दिनमा आवतजावत गर्न सजिलो हुने वताएका छन् ।