निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई दण्डित गर्छु: मन्त्री महासेठ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई दण्डित गरिने बताउनु भएको छ ।

बुधवार सार्वजनिक खरिद ऐन नियमावली तथा निर्माण व्यवसाय ऐन नियमावली संशोधनका लागि बुधबार राजधानीमा आयोजित राष्ट्रिय भेलाको उद्घाटन गर्दै मन्त्री महासेठले सो कुरा बताउनुभएको हो ।

सो अवसरमा मन्त्री महासेठले व्यवसायी मैत्री ऐन नियम ल्याउन सरकारले गृहकार्य गरिरहेको समेत जानकारी दिनुभयो ।निर्माण व्यवसायमा केही विकृति रहेको स्वीकार गर्दै मन्त्री महासेठले व्यवसायीमाथि मात्र दोष थुपार्नु भने सही नभएको धारणा राख्नुभयो ।

‘गल्ती गर्ने कर्मचारीलाई पनि अब कारवाही गरिन्छ’ मन्त्री महासेठले भन्नुभयो । नेपाललाई समृद्ध बनाउने दायित्व स्वदेशी निर्माण व्यवसायीकै भएको बताउँदै मन्त्री महासेठले ऐन नियम संशोधन गरेर भएपनि व्यवसायीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महासंघका मानार्थ सदस्य समेत रहनु भएका प्रतिनिधि सभा सदस्य जीप छिरिङ लामा शेर्पाले व्यवसायी मैत्री ऐन कानून ल्याउन सरकारलाई चौतर्फी दबाब आवश्यक भएको धारणा राख्नुभयो ।

महासंघका अध्यक्ष रवि सिंहले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई मूर्त रुप दिन निर्माण व्यवसायीहरु तयार रहेपनि अहिले अवस्थामा सहज तरिकाले निर्माण कार्य अघि बढाउन धेरै चुनौती रहेको बताउनुभयो ।

महासंघका सल्लाहकारहरु रमेश शर्मा, सुकुन्तलाल हिराचन, यक्षध्वज कार्की, लगायतले अव्यवहारिक ऐन कानूनसँगसँगै असुरक्षा, चन्दा आतंक, निर्माण सामाग्रीको अभाव लगायतका कारण निर्माण व्यवसाय धाराशायी भएको धारणा राख्नुभयो ।

भेलाको उद्घाटन सत्रमा महासंघका कानूनी सल्लाहकार बाबुराम दाहालले व्यवसायीका समस्या र समाधानका उपायका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । भेलामा देशभरका ३ सय भन्दा बढी निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो ।