नेपाल समाचारपत्र, काठमाडौ ।
सांसदहरुले आफ्नो पदको दुरुपयोग गर्ने र जनताको पक्षमा काम नगर्ने आरोप लागिरहेका बेला काठमाडौं–१ (ख) का नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशसभा सांसद गणेशप्रसाद दुलाल भने सडक पीच गरेर जनताको विश्वास जित्न लाग्नुभएको छ ।
सडक विभागको योजना अन्तर्गत सांसद दुलालको पहलमा अहिले नयाँ बानेश्वरको भीमसेनगोला माध्यमिक विद्यालयबाट पुरानो बानेश्वर जोड्ने बाटो पीच भइरहेको छ । सूर्यबिक्रम ज्ञवाली मार्ग भनेर चिनिने १४ सय मिटर बाटो पीच गर्न ५ करोड रुपैंया खर्च भएको दुलालले बताउनुभयो ।
उहाँले यसअघि भीमसेनगोला सडक र शान्तिनगरबाट पुरानो बानेश्वर जोड्ने सडक पनि पीच गरिएको बताउनुभयो । झण्डै ८ सय मिटर रहेको प्रयाग मार्ग पीच गर्ने प्रक्रिया अघि बढेको भन्दै दुलालले बिकासमा सबैको सहयोग र सहकार्य भएको बताउनुभयो ।
‘बिकास गर्ने कुरामा पार्टी, सार्टी, सत्ता पक्ष र प्रतिपक्ष भनेर हुँदैन, जनप्रतिनिधि सबैको हो भन्ने अनुभुति दिलाएको छु’ सांसद दुलालले भन्नुभयो ‘ मैले गरेको कामबाट विपक्षी पार्टीका हुँ भन्नेहरु पनि सन्तुष्ट हुनुहुन्छ, आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछु ।’ उहाँले १९ मतको फरकमा मात्र नेपाली कांग्रेसका उम्मेदवार सुरज लामिछानेलाई जित्नुभएको हो । काठमाडौंको वडा नम्बर ३१ नै एउटा प्रदेश हो ।
यो वडामा उहाँकी श्रीमति भूमा आचार्यले वडा सदस्य जित्नुभएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रकाशमान सिंहले जित्नुभएको छ भने अर्को प्रदेशमा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ निर्वाचित हुनुहुन्छ । २०७१ सालबाट टेण्डर भएपनि विभिन्न कारणले निर्माण हुन नसकेको यो योजना सम्पन्न गरेकोमा दुलाल मात्र होइन स्थानीय पनि खुशी छन् ।
‘धेरै ठूला कुरा गर्दिन, अहिले भइरहेको पीचमा लाग्ने खर्च सडक विभागको हो तर अलपत्र भएको योजना मैले सम्पन्न गरें त्यसैमा खुशी छु’ दुलालले भन्नुभयो ‘अर्को वर्षसम्म यो वडालाई धुलोरहित बनाउँछु, तत्कालै प्रत्येक पोलमा सडकबत्ति बाल्छु ।’
दुलालले संसदका लागि आउने बिकास बजेटबाट विजुलीको पोलमा बाल्नका लागि बत्ति खरिद गरिसकिएको बताउनुभयो । ५ सय चाहिने बत्तिमध्ये १ सय ८० वटा किनिसकिएको छ भने अरु प्रक्रियामा छन् । यसका लागिमात्र ५० लाख खर्च हुने भनाई छ ।
‘बिकास निर्माणमा कसैले बाधा गर्नु भएन भन्दाभन्दै पनि कहिलेकाँही अनेक दुःख झेल्नुपरेको छ तर पनि पछि हटेको छैन’ सांसद दुलालले भन्नुभयो ‘ जहाँ पनि आफैं पुग्ने गरेको छु, निरन्तरको पहलकदमीले यी काम सम्पन्न भएका छन् ।’ दुलालले मीनभवनमा क्रियापुत्री भवन र नयाँ बानेश्वरका भीमसेनगोला मावि छेउमा जेष्ठ नागरिकका लागि सामुदायिक भवन पनि बनिरहेको बताउनुभयो ।











प्रतिक्रिया