खुल्लाचौरमा जब आगो दन्कियो…..


सलिम अन्सारी,प्युठान ।
अपरान्ह तीर घरका मान्छे काममै व्यस्त थिए । त्यही बीचमा एक घरमा आगोको लप्का देखियो । आगोको मुस्लो र धुँवा देखेपछि सबै आत्तिएँ, चिच्याउन थाले ।“गुहार ! गुहार ! लौन घरमा आगो लाग्यो बचाउ, बचाउ ।”

मानिसहरूको यस्तै चित्कार सुनिन्थ्यो । वरपरका सवै भेला भए।झिमरुक फाँटको खेलमैदान बीचमा परालले छाएको छाप्रामा आगो लागिरहँदा मानिसहरू घरका समान झिक्न र आफन्तलाई जोगाउन लागिपरेका देखिन्थे ।

कोहि सम्पत्ति सबै डढ्यो भनेर आलाप विलाप गरिरहेका थिए ।कोही आगोको रापले बेहोस थिए । यत्तिकैमा आगलागीको खबर सिडियो कहाँ पुग्यो। सिडियोले निर्देशन गरेसँगै आएका संयुक्त सुरक्षा फौज उद्धार सामाग्री सहित उद्धारमा जुटे सुरक्षाफौजलाई पनि आगो निभाउन हम्मेहम्मे भएपछि १०१ नम्बरमा फोन गरेर दमकललाई बोलाइयो। त्यसको केही क्षणमा नै रेडक्रसका प्रतिनिधि एवम् दमकल तथा एम्बुलेन्स पनि साइरन बजाउँदै आइपुगे ।

रेडक्रसको टोली सहित चिकित्सकहरू आगालागीका कारण घाइते भएका व्यक्तिहरूलाई तत्काल प्रारम्भिक उपचार गर्दै थिए भने गम्भीर उपचार गर्नुपर्नेलाई एम्बुलेन्समा हालिदै थियो ।

सुरक्षा निकायका प्रतिनिधिले घटना र पीडितका सम्बन्धमा आवश्यक जानकारी एवम् मुचुल्का तयार गरिरहेका देखिन्थे भने प्रशासनिक निकायका प्रतिनिधि स्थानीय तहका पदाधिकारीसँग समन्वय गरिरहेका थिए । घटनाका पीडित भेट्दै तत्कालिन राहत दिदै थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ बद्रीनाथ गैह्रेका अनुसार प्युठानमा मंगलबार भएको यो घटना वास्तविक नभै जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा गरिएको विपद् पूर्व तयारी एवम् प्रतिकार्य योजनाको नमूना पूर्व अभ्यास हो ।

आपत्कालीन अवस्थामा आइपर्ने जोखिमलाई न्यूनीकरण गर्न त्यस्तो अभ्यास गरिएको हो। आगलागी हुने कारण, आगलागी नियन्त्रण, आगलागीमा परेकाहरूको उद्धार, तत्काल उपचार तथा राहतका लागि सर्वसाधारणलाई व्यावहारिक रूपमै कसरी सक्षम बनाउने भन्ने उद्देश्यले प्रयोगात्मक अभ्यास गरिएको हो।

तीनदिने प्रशिक्षणको अन्तिम दिन गराइएको आगलागी नियन्त्रणको अभ्यास प्रदर्शन गरेर स्थानीयले आगलागी हुँदा संयमता र विवेकपूर्ण तरिकाले काम गनुर््पर्ने सन्देश दिए ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले विपद्मा नआँतिन सिकाउनका लागि प्रशिक्षण र आगलागी नियन्त्रण अभ्यासले सहयोग पुग्ने बताउनुभयो ।