५० अर्बको बजेट ल्याउँदै प्रदेश–३ सरकार

0
Shares

हेटौंडा,(नेस)
प्रदेश–३ सरकारले आगामी आर्थिक वर्षका लागि ५० अर्ब रुपिया“ बराबरको बजेट ल्याउने तयारी गरेको छ । बजेट तयारीका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी व्यस्त छन् ।

चालू आर्थिक वर्षका लागि बजेट खर्च गर्न नसकेर पिरलोमा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको छ । चालू आर्थिक वर्षको हालसम्म पु“जीगत र चालू खर्च गरी ३० प्रतिशतमात्र बजेट खर्च भएको छ । असारसम्म प्रदेश सरकारले पु“जीगत खर्च ५० प्रतिशतसम्म गर्न पनि समस्या भएको छ । तर, सबै रकम खर्च गरिने प्रदेश सरकारको दाबी छ ।

आगामी आर्थिक वर्षको बजेट तयारीमा जुटे पनि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा लामो समयदेखि सचिव छैनन् । संघीय सरकारका सामान्य प्रशासन मन्त्रालयले सचिव नपठाएको भन्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल आक्रोशित हुनुहुन्छ ।

प्रदेशको राजस्व संकलनको महत्वपूर्ण हिस्सा मानिएको ढुंगा, गिट्टी, बालुवाको कर स्थानीय तहले लिने संघीय सरकारले निर्णय गरेपछि आर्थिक स्रोत घट्नेमा मन्त्रालयलाई चिन्ता छ । तर, राजस्व संकलनको दायरा बढाएर प्रदेश सरकारको आर्थिक स्रोत बृद्धि गर्ने तयारीमा प्रदेश सरकार लागेको मन्त्री ढुंगेलले बताउनुभयो ।