आवास रकम अपचलनप्रति सूर्य नेपालका मजदूर असन्तुष्ट

0
Shares

बारा,(नेस)
बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले श्रमिकको आवास सम्बन्धी सुविधामा श्रम ऐन विपरित कार्य गरेको भन्दै कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन् ।
श्रम ऐन २०४८ ले व्यवस्था गरेको कर्मचारीको बासस्थान सम्बन्धी निर्देशन विपरित व्यवस्थापन पक्षले एकलौटी रुपले रकम खर्च गरेको भन्दै उद्योगमा आवद्ध मजदुर युनियनका कर्मचारीले सोमबार सिमरामा पत्रकार सम्मेलन गरी असन्तुष्टि पोखेका हुन् ।

श्रम ऐन २०४८ को दफा ४१ ले मुनाफा गर्ने प्रतिष्ठानले कुल मुनाफाको ५ प्रतिशत नघट्ने गरी रकम छुट्याई कामदार कर्मचारीको बासस्थान क्रमशः व्यवस्थापन गर्दै जानुपर्ने व्यवस्था गरेको थियो । २०७५ को श्रम नियमावलीले सो व्यवस्था खारेज गरेपछि व्यवस्थापन पक्षले आफ्नो अनुकुल रकम खर्च गरेको मजदुरहरुको आरोप छ । यस बीचमा कोषमा जम्मा भएको करिब ३ अर्ब रुपिया“ उद्योग व्यवस्थापनले जथाभावी खर्च गरेको उनीहरुको आरोप छ ।

‘श्रम ऐन २०४८ का अधारमा २०५० ले बासस्थान कोषमा जम्मा भएको रकम श्रम सम्बन्ध समितिमार्फत कर्मचारीको हित हुने योजनामा खर्च गर्नुपर्ने उल्लेख गरेको छ ।’ पत्रकार सम्मेलनमा बोल्दै समग्र उद्योग ट्रेड युृनियन सूर्य नेपाल प्रालिका अध्यक्ष अमरनाथ गिरीले भन्नुभयो–‘तर त्यो रकम समितिमा रहेका कर्मचारीलाई जानकारी समेत नदिई उद्योगले मनोमानी खर्च गरेको छ ।’

बासस्थान कोषमा रहेको रकम खर्च गर्ने बिषयमा पटक–पटक छलफलको प्रस्ताव गर्दा व्यवस्थापन पक्षले बेवास्ता गरेको र आफुहरुस“गको छलफलबिना केही उच्च पदस्थ कर्मचारीका लागि सुविधा सम्पन्न भवन निर्माण गरेको नेपाल बहुराष्ट्रिय कम्पनी मजदूर युनियन सूर्य नेपाल प्रालिका अध्यक्ष बिनोद श्रेष्ठले गुनासो गर्नुभयो ।

‘कर्मचारीकै हितका लागि खर्च गर्नुपर्ने प्रावधान छ । नवनिर्मित भवन पनि कर्मचारीकै लागि हो । तर, हामीहरुस“गको छलफल र जानकारी बिना रकम खर्च हुनु ठिक होइन ।’ श्रेष्ठले भन्नुभयो –‘कर्मचारीकोे पसिनाबाट कट्टी गरेर जम्मा भएको रकमले कर्मचारीकै लागि स्थायी बासस्थानको व्यवस्था गरियोस् ।’

व्यवस्थापनले आफुनो माग बेवास्ता गरे चरणबन्द आन्दोलनका कार्यक्रम अघि सार्ने चेतावनीसमेत उनहरुले दिएका छन् । सूर्य नेपाल बहुराष्ट्रिय कम्पनी सिमरामा यस क्षेत्रका जम्मा ३१० जना मजदुर कार्यरत छन् ।