पुनर्निर्माणका प्राविधिक काममा फर्किन सहमत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पुनर्निर्मणमा कार्यरत प्राविधिकहरु काममा फर्किन सहमत भएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको मध्यस्थतामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकबीच भएको छलफलमा प्राविधिकहरुले आफूहरुका माग सम्बोधन भएकाले काममा फर्किने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडित जनताको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई विशेष ध्यान दिई काममा लाग्न र गाउ“पालिका तथा नगरपालिकामा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकहरुलाई निर्देशन दिनुभयो ।

काममा नगई व्यावसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटिए राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभागीय कारबाही गर्ने भएको छ ।‘प्राविधिकहरुका माग सम्बोधन भइसकेको अवस्थामा सम्पूर्ण प्राविधिक साथीहरु प्रतिबद्ध भइ काममा लाग्नेछन् । यदि आगामी दिनमा काममा नगई व्यावसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटियो भने त्यस्ता प्राविधिकलाई राष्ट्रिय पुनर्निर्माण प्राविधिकरणले विभागीय कारबाही गर्न सक्नेछ।’ निर्णयमा उल्लेख गरिएको छ ।

नेपाल इन्जिनियर्स एसोसिएसनका महासचिव छविराज पोख्रेलले इन्जिनियरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनर्निर्माणको कार्यलाई ढिला गर्न र अल्झाउन प्राविधिकहरुलाई छुट नभएको बताउनुभयो ।
प्राविधिक अविनाश अमरले माग पूरा भएकोमा सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व र नेपाल इन्जिनियर्स एसोसियसनका पदाधिकारीहरुलाई धन्यवाद दिनुभयो ।

प्राविधिकहरुले अतिरिक्त भत्ता र सुविधाको माग राखी आन्दोलन गर्दै आएकोमा गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणमा कार्यरत प्राविधिकलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।