ढाँटेर नेपाली नागरिकता लिने भारतीय पक्राउ


कृष्णउदास खनाल, वीरगन्ज ।
जिल्ला प्रशासन कार्यालय पर्सामा विवरण ढाँटेर आफ्नो छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

२०६३ मा वीरगन्ज महानगरपालिका १३ ठेगाना देखाई ३४३०८÷४८ नम्बरको नागरिकता लिएका सुदामा साह तेलीलाई प्रशासनले पक्राउ गरेको हो ।

गृहमन्त्रालयले २०६८ पुष २० गते साहको नागरिकता बदर गरेको थियो ।बदर गरिएको नागरिकता लिएर छोराको नागरिकता बनाउन गएका साह पक्राउ परेका हुन् । विवरण ढाँटेर नागरिकता बनाउन पुगेका सुदामा साह तेलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी पर्साका प्रमुख रेवती ढकालले बताउनुभयो ।

साह बिरुद्ध ०७१ सालमा जिल्ला प्रहरी कार्यालय पर्सामा झुठा विवरण पेश गरी नेपाली नागरिकता प्रमाण पत्र लिएको आरोपमा उजुरी दर्ता भएको थियो ।

अब त्यही मिसिलका आधारमा झुठो विवरण पेश गरेको आरोपमा मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले बताउनुभयो ।

पछिल्लो पटक वैशाख २ मा सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका नेपालीका सन्तानले बंशजको नागरिकता पाउने बाटो खुला गरिदिएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरुको भिड बढेको छ ।