विपन्न दलित वस्तीमा खानेपानी योजनाको शिलान्यास


मनोज भट्ट, महेन्द्रनगर ।
भीमदत्त नगरपालिका वडा नं. १० श्रीलंका टोलमा खानेपानी योजनाको शिलान्यास गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले श्रीलंका खानेपानी उपभोक्ता तथा सरसफाई योजनाको शिलान्यास गरेका हुन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीसित खानेपानी उपभोक्ता तथा सरसफाई समितिको सम्झौता गरिएपछि योजनाको औपचारिक रुपमा शिलान्यास गरिएको छ । श्रीलंका टोल सहित वरपरका ६० घरधुरीका वासिन्दालाई शुद्ध खानेपानी उपलब्ध गराउन योजना सञ्चालन गरिएको छ ।

स्थानीय तह निर्वाचनका क्रममा गरिएका प्रतिवद्धता अनुसार नगर प्रमुख विष्टले गत वर्ष स्थानीयलाई बाढीको समय आउजाउका लागि रेडक्रस सोसाइटीसित साझेदारी गरी कल्भर्ट निर्माण गरेका थिए । कल्भर्टसम्म पुग्ने बाटो ग्राभेलिङ्गका लागि बाटोको सीमा यकिन गर्न स्थानीयसित छलफल थालिएको छ ।

श्रीलंका टोल सहित भीनपा वडा नं. २ र ८ मा खानेपानी योजना सञ्चालनका लागि पहल गरिएको नगर प्रमुख विष्टको भनाई थियो । खानेपानी उपभोक्ता तथा सरसफाई योजना समितिका अध्यक्ष कृष्णराज जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा अध्यक्ष परमानन्द जोशी, वडा सदस्यहरु भवान सिह ठगुन्ना, प्रेम बहादुर चन्द लगायतका सहभागी भएका छन् ।

कार्यक्रममा वडा अध्यक्ष जोशीले स्थानीय सरकारले श्रीलंका टोललाई प्राथमिकता दिएर पूर्वाधार निर्माण सहित खानेपानी, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका रुपक कठायतले भीनपाले विपन्न वस्तीमा पूर्वाधार निर्माण, खानेपानी योजना सञ्चालन लगायतका विकास निर्माण कार्य प्राथमिकता दिएकोमा नगरपालिकाको सराहना गरे । बर्खामा सधैं महाकाली नदीको बाढीको त्रास हुने यो वस्तीमा दलित समुदायका ६० घरधुरी बसोबास गर्छन् ।

श्रीलंका टोलमा खानेपानी योजना सञ्चालनका लागि शिलान्यास गरिएपछि वासिन्दाहरु खुसी भएका छन् । चार दशकदेखि वस्तीमा बसोबास गर्र्दै आएका स्थानीय लछी सार्कीले खानेपानी योजना शिलान्यासले वस्तीमा खुसी छाएको बताए ।

खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष जोशीले छिटो योजना सम्पन्न गरी लक्षित घरधुरीमा खानेपानी पुगाउने गरी निर्माण कार्य गरिने बताए ।

‘यस वर्ष पर्खालको काम हुन्छ, त्यसपछि अरु काम गर्छौ, यसमा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको सहयोगको आश गरेका छौ’ उनले भने ।