कालिकोट नरहरिनाथमा सरकारी गाडिको चरम दुरुपयोग


कालीवहादुर मल्ल, कालिकोट ।
यहाँ जिल्लाको नरहरीनाथ गाउँपालिकाले सरकारी गाडीको व्यापक दुरुपयोग गरेको पाइएको छ । गाउँपालिकामा सडक नपुगेको भएपनि गाडी खरिदगरी अन्य सडक पुगेका स्थानीय तहमा सञ्चालन गर्नुका साथै गाडीको दुरुपयोग गर्दै आएको हो ।

सरकारी गाडीलाई उक्त सवारीसाधनलाई आफन्त र अन्यले पनि दुरुपयोग गर्ने गरेको स्थानीयले बताएका छन् । भे १ झ २८४ नम्बरको गाडी ड्राइभरले खाँडाचक्र नगरपालिका–२ कर्णाली राजमार्गको हुल्ममा पार्किङ राखेर भाडामा चलाउने गरेका छन् ।

कहिले गाडी गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टका छोरा र गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाका आफन्तले आफूखुशी चलाउने गरेका छन । सरकारी गाडीमा शुक्रबार बेलुका ६ बजेपछि यात्रुलाई भाडामा संचालन गरेको सोही गाउँपालिका ४ का स्थानीय महेश विष्टले वताउनुभयो । नाम ‘क्षमताभन्दा बढी यात्रु बोकेर सरकारी गाडी निकै जोडले हुइँकिएको थियो’ उहाँको भनाई थियो ।

कर्णाली राजमार्गको हुल्मदेखि कालिकोटका सदरमुकाम मान्मसम्म सार्वजनिक सवारी साधनले १०० रुपैयाँ भाडा तोकिएको भए पनि गाउँपालिकाको सरकारी गाडीले २०० रुपैयाँ भाडा लिने गरेको छ ।

सरकारी गाडीमा सवार यात्रु सान्नित्रिवेणी गाँपालिका निवासी रोशन विकले बताउनुभयो । ‘सरकारी गाडीले निशुल्क लैजाला भनेर गाडीमा चढियो।’ उहाँले भन्नुभयो,‘सार्वजनिक सवारी साधनले लिनेभन्दा गाउँपालिकाको गाडीले दोब्बर भाडा लिँदोरहेछ ।’

गाउँपालिकाको गाडी दुरुपयोग भएको विषयमा गाउँपालिका अध्यक्ष धिरवहादुर विष्ट र उपाध्यक्ष मन्शोभा वुढाले गाँउपालिकाको गागाडी वाटोमा अलपत्र परेका र असाहएलाई बोक्ने गरेका प्रतिक्रिया दिनुभएको छ ।