निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ३ सय जनाले सेवा लिए


किरन धामी, दार्चुला ।
सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताल दार्चुलामा वैशाख १० गते देखी १४ गते सम्म संचालन भएको निशुल्क स्वास्थ्य शिविरबाट दार्चुला तथा छिमेकी जिल्ला बैतडीका गरी १ हजार ३ सय जनाले शिविरबाट सेवा लिएका छन् ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौँ दार्चुलाको महाकाली नगरपालिका र जिल्ला अस्पताल दार्चुलाको आयोजनामा संचालनमा आएको निशुल्क स्वास्थ्य शिविरबाट सो संख्यामा रहेको सेवाग्राहीले सेवा लिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

शिविरमा सेवा लिएका सेवाग्राही मध्ये ६९ जना सेवाग्राहीको शल्यक्रिया गरिएको नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौँका सिनियर सर्जन मेडिकल निर्देशक डाक्टर युवराज खरेलले जानकारी दिनुभयो ।

विकट गाउँ तथा जिल्लाहरुमा रहेका विभिन्न कारणबाट अंगभंग भएकाहरुको सेवाका लागी निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उहाले बताउनु भयो । शिविरमा सेवा लिन आएका सेवाग्राही मध्ये ६९ जनाको शल्यक्रिया ११ जनाको सामान्य पलाष्टर र जटिल समस्या भेट्टीएका ३ जनालाई काठमाण्डौ रेफर गरिएको उहाले जानकारी दिनुभयो ।
‘शिविरमा यति धेरै सेवाग्राही आउँने अपेक्षा गरेका थिएनौ, शिविरबाट धेरैले सेवा लिए उहाले भन्नुभयो’ । शिविरमा धेरै सेवाग्राही सेवा लिन आएपछि एक दिन थप गरेर सेवा प्रदान गरेको उहाले बताउनुभयो ।

शिविरमा खुट्टाको पैतला फर्किएका, जन्मजात हात खुट्टा बाङ्गिएका, भाँचिएका, बाङ्गिएर जोडिएका, आगोले पोलेका, गाठागुठीको उपचार सेवा प्रदान गरिएको थियो ।

शिविरमा स्विजरल्याण्डका डाक्टर क्याट्रिन हगेन सहित १५ स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । आर्थीक अभावका कारण उपचार गर्न नसकेका बिरामीले घर जनिकै निःशुल्क उपचार पाए पछि खुसी भएका छन् ।