नगरपालिकाको बजेटबाट पुल निर्माण कार्य शुुरु


सरिता चलाउने, सल्यान ।
सल्यानको शारदा नदीमा पुलको निर्माण कार्य सुरु भएको छ । शारदा नगरपालिका वडा नम्बर १ शान्तिनगरबाट वडा नम्बर १२ रेशमज्युला जोड्ने मोटरेवल पुलको निर्माण कार्य सुरु गरिएको हो ।

शारदा नगरपालिकाले आफ्नै बजेटमा बनाउन लागेको उक्त मोटरेवल निर्माणको लागी नगरपालिकाले भ्याट सहित ४ करोड ४० लाख रुपैया विनियोजन गर्ने नगरका प्रवक्ता तथा वडा नम्बर १२ का वडा अध्यक्ष दिपक कुमार हमालले बताउनु भयो । जसमा निर्माणको लागी जुद्ध एण्ड पुर्ण जेभी तुलसीपुर सँग भ्याट बाहेक ३ करोड ८० लाख ४५ हजार रकममा सझौता गरिएको उहाँले बताउनु भयो ।

शारदा नदिमा बन्ने पुलको इस्टमेट अनुसार लम्बाई ५० मिटर र चौडाई ८ मिटर रहने छ । २०७५ माघ २० गते निर्माण सम्झौता भएको पुल २०७८ जेठ २० गतेभित्र पुरा गरिसक्नुपर्ने छ । निर्माणको लागी आर्थिक बर्ष २०७५÷०७६ मा नगरपालिकाले ५० लाख बजेट बिनियोजन गरेको वडा अध्यक्ष हमालले बताउनु भयो । । यो पुल बनेसँगै शारदा नगरपालिकाको श्रीनगरबाट वडा नम्बर १२ र १३ का नागरिकलाई प्रत्यक्ष रुपमा सुविधा हुने उहाँको भनाई छ । त्यस्तै छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ५, २, १, मोख्ला र रोल्पाको झ्यामसम्म सहज हुने उहाले बताउनु भयो ।

रेशमज्युलाबाट अहिले डाँग्री, काखखोला, तिमीले, लेखटाकुरा हुँदै राप्ती राजमार्गसम्म सडकको ट्याक खोलिएको अध्यक्ष हमालले बताउनु भयो । यो शारदा नदिको किनार हुँदै प्रयोग गरिने राप्ती राजमार्ग भन्दा यो सडक आधा गुणा छोटो हुने उहाँले बताउनु भयो । उहाँका अनुसार करिब १५ किलोमिटर यो सडकको दुरी रहेको छ ।

जतिसक्यो काम छिटो गर्छाैँः निर्माण कम्पन्नी
पुलको ठेक्का लिएको जुद्ध एण्ड पुर्ण जेभी तुलसीपुरले सम्झौता मिती अगावै निर्माण कार्य सम्पन्न गर्ने बताएको छ । जसको लागी १५ दिन अघिदेखि काम थालनी भएको कम्पनीका प्रोप्राईटर पुर्ण भण्डारीले बताउनु भयो ।

उनले कामको लागी २५ जना कामदार, २ वटा साना डोजर, एउटा टिप्पर, एउटा ट्याक्टर र आवश्यकता अनुसार अन्य मेसिन थपिने गरेको बताउनु भयो । पुल निर्माणको लागी आवश्यक पर्ने जाली, फलाम (सरिया) पनि यहि ल्याएर साइज बनाउने काम भैरहेको बताउनु भयो ।