शहीदमार्गले रुकुम–दाङको दुरी घट्यो


धनवीर दाहाल, रुकुम पुर्व ।
शहिदमार्ग सञ्चालनमा आएपछि रुकुम पूर्व र दाङको दुरी घटेको छ । रुकुम पुर्वका बासिन्दा दाङ आवात जावत गर्दा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको हो । शहिद मार्ग संचालन भएपछि स्थानीयलाई दाङ लगायत प्रदेश राजधानी बुटवल पुग्न सहज भएको छ । शहिदमार्ग अन्तर्गत अहिले रुकुम पूर्वको भूमे गाउँपालिकाको काँक्री लुकुमदेखि दाङ घोराहीसम्मका लागि दुईवटा बस छुट्ने गर्दछन् ।

यहाँबाट रोल्पा थवाङ, घर्तीगाउँ, तिला, होलेरी हुँदै ८ घण्टामा सहजै घोराही पुग्न सकिने स्थानीय कमल बुढाले बताउनुभयो । घोराहीदेखि यहाँको मध्यपहाडी लोकमार्गसम्म एकसय ५६ किलोमिटर दुरी रहेको यस मार्गमा एकहजार रुपैयाँ भाडा लाग्ने उहाँको भनाई छ । ‘यसअघि रुकुम पश्चिम भएर जाँदा तीनवटा गाडी फेर्दै जानुपर्ने बाध्यता थियो ।’ उहाँले भन्नुभयो, ‘दुरी पनि धेरै लामो भएकोले यहाँबाट दाङ पुग्न दुईहजार रुपैयाँ खर्च हुन्थ्यो, अहिले धेरै सजिलो छ ।’ यहाँबाट बस सञ्चालनमा आएपछि दाङ र त्यहाँबाट प्रदेश राजधानी बुटवल तथा काठमाडौंसम्म जाने यात्रुहरुको चापसमेत बढेको छ ।

डोल्पासम्म जोड्ने लक्ष्य रहेको यस शहिदमार्गको ट्र्याक पुथा उत्तरगंगा गाउँपालिकाको पिपलटुङसम्म खुलिसकेपनि स्तरोन्नति नहुन्जेल अलिअलि समस्या कायमै हुने भूमे गाउँपालिका –६ का वडाध्यक्ष देवबहादुर बुढाले बताउनुभयो । घोराहीबाट रोल्पाको दुईखोलीबाट चुन्वाङ हुँदै महत जोड्ने भनिएको सडक पछि थवाङतिरबाट ल्याउँदा दुरी लामो भएको उहाँको भनाई छ । चुन्वाङ–महत सडकको ट्र्याक पनि खुलिरहेकोले यो सडक निर्माण भएमा अझै छिटो दाङ पुग्न सकिने उहाँले जानकारी दिनुभयो ।