झापामा चिया मजदुरद्धारा चिया उद्योगीको पुत्ला दहन


उत्तम नेपाल, भद्रपुर ।
पूर्वका चिया मजदुरले झापामा चिया उद्योगीको पुतला दहन गरेका छन् ।  सरकारले राजपत्र मै प्रकाशित गरी चिया मजदुरलको न्यूनतम ज्याला तोके पनि चिया उद्योगीले सो अनुसारको ज्याला नदिएपछि आन्दोलनमा उत्रिएका चिया मजदुरले झापाको बिर्तामोडस्थित मुक्ति चोकमा आइतबार उद्योगीको पुतला दहन गरेका हुन् ।

नेपाल चिया बगान श्रमिक संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघमा आवद्ध मजदुरले उद्योगीविरुद्ध चर्को नाराबाजी गर्दै पुतला दहन गरेका थिए । पूर्वका चिया मजदुर चिया मजदुर चैत १७ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । ज्याला मात्र नभई श्रम ऐन २०७४, श्रम नियमावली २०७५, सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनमा ल्याउन समेत मजदुरले माग अघि सारेका छन् ।

सरकारले २०७५ साल साउन १ गतेदेखि लागू हुने गरी बगानमा काम गर्ने श्रमिकको ज्याला दैनिक ३५० रुपैयाँ तोकेको थियो । उद्योगमा काम गर्ने श्रमिकलाई ४२ रुपैयाँ थपेर ४२७ रुपैयाँ तोकेको थियो। राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला ६ हजार ४६९ रुपैयाँ र महँगीभत्ता चार हजार ३८१ रुपैयाँ तोकिएको छ ।

तर, यो कुनै प्रावधान कार्यान्वयनमा ल्याउन झापा उद्योगी मानेका छैन । श्रम ऐनमा श्रमिकको नियुक्तिपत्र, बिमा, बिदा सुविधा, औषधोपचारलगायतको व्यवस्था छ । एक वर्ष काम गरेका श्रमिकले मासिक रूपमा पाउने आधारभूत पारिश्रमिकको कम्तिमा आधा दिनको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष वार्षिक तलबवृद्धि पाउने ऐनमा उल्लेख छ ।

आफ्नो धर्म–संस्कृति तथा परम्पराअनुसार चाडपर्व मनाउन श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ । श्रम नियमावलीले सञ्चय कोष, उपदान, बिदा सुविधा, नियुक्तिपत्र, स्थायी, करार लगायतको व्यवस्था छ । झापामा २८ वटा सिटिसी चिया उद्योगमा मजदुर कार्यरत रहेका छन् । सरकारले तोकेको ज्याला पाउनु पर्ने भन्दै चिया मजदुरले चैत १७ गतेदेखि श्रम शोषणविरुद्ध चिया उद्योगहरू बन्द गरी अनश्चितकालीन आन्दोलनमा उत्रिएका छन् ।