सिम्रिक एयरले ल्यायो नयाँ हेलिकोप्टर

0
Shares

काठमाडाैं । सिम्रिक एयरले नयाँ हेलिकोप्टर थपेको छ । उसले खरिद गरेको नयाँ एएसथ्री फाइभ जिरो बिथ्रिई हेलिकोप्टर शनिबार काठमाण्डुमा अवतरण गरेको हो ।

फ्रान्समा बनेको यो हेलिकोप्टरको कलसाइन नाइनएन–एएनबी हो । मलेसियाबाट क्याप्टेन आनन्द थापाले अर्का क्याप्टेन विमल शर्मा र इन्जिनियर प्रचण्ड मल्लका साथ हेलिकोप्टर उठाएर काठमाण्डु ल्याइपुर्‍याएको कम्पनीले जनाएको छ ।

नेपालमा हेलिकोप्टरको बजार बढेकाले सिम्रिकले यही मोडलका दुई हेलिकोप्टर सँगसँगै खरिद गरेको जनाएको छ । यसअघि गत १८ अक्टोबर २०१८ मा यो मोडलको पहिलो हेलिकोप्टर काठमाण्डु आएको थियो । यी दुईसहित सिम्रिकसँग हेलिकोप्टरको संख्या ५ पुगेको छ । यो हेलिकोप्टर आएसँगै सबैभन्दा सुरक्षित तथा उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीको क्षमता अझै विस्तार भएको उसले जनाएको छ ।

यो हेलिकोप्टर १ सय ५५ नटिकल माइल प्रतिघन्टाको गतिमा उड्न सक्छ । एकपटकमा यो हेलिकोप्टर ४ घन्टा २८ मिनेटसम्म उड्न सक्छ । २३ हजार फिटसम्मको उचाइमा यो हेलिकोप्टर उड्न सक्छ । बिरामी बोक्न, खोजी तथा उद्धार गर्न, यात्रु ओसार्न तथा कार्गो बोक्न यो हेलिकोप्टर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।