नगरिकता नहुँदा आर्थिक सहयोगबाट वञ्चित

0
Shares

गोकुल घोरसाइने, बारा
विनासकारी हावाहुरीेबाट गत महिना श्रीमति मिना (५६), बुहारी सकिमा (३५) गुमाएका फेटा गाउँपालिका ६, पुरैनियाका इजाहर मिया (७२) ले प्रदेश २ सरकारले उपलब्ध गराएको आर्थिक सहयोग अझै प्राप्त गर्न सकेका छैनन । मिना र सकिमाको नेपाली नागरिकताको प्रमाण पत्र नभएकाले आर्थिक सहयोग रकम लिन समस्या भएको हो ।

‘पैसा लिन एकपटक सदरमुकाम कलैया बोलाएका थिए, इजाहरले भने, तर मृतकको नेपाली नागरिकताको प्रमाणपत्र नहुदा रित्तो हात फर्किनुपर्यो ।’ पहिले बनाउन वास्ता गरिएन अब मरेर गइसके बनाउन पनि सकिदैन , उनले भने, सरकारले नागरिकता प्रमाणपत्र नभएकाहरुलाई पनि रकम उपलब्ध गराउने व्यवस्था गर्नु पर्यो ।’ हुरीमा परेर उनकी दुई नातिनीहरु रुक्सना र सम्सिदा खातुनको समेत मृत्यु भएको थियो ।

पुरैनियाका मियाँ जस्तै बाराका हुरीमा परेर मृत्यु भएका अधिकांशको नेपाली नागरिकता प्रमाणपत्र नहुदा आफन्तले प्रदेश २ सरकारले उपलब्ध गराएको आर्थिक सहयोग रकम अझै हात पार्न सकेका छैनन । गत महिना आएको हावाहुरीबाट मृत्यु भएका बाराका २८ मध्ये ९ जनाको परिवारले मात्र प्रदेश सरकारले उपलब्ध गराएको जनही ३ लाख दरले रकम पाएका छन । ‘धेरैले नागरिकता नै बनाएका रहेनछन, फेटा गाउँपालिका अध्यक्ष अमिरीप्रसाद लालले भने, मृतक मध्ये केहीको नागरिकता भएर पनि हकवालाको नहुदा रकम बुझन पाएका छैनन ।’ उनले मृतक २ बर्षिया अलिसा खातुनको आमा कैमुनेसा आलमसंग नेपाली नागरिकताको प्रमाण पत्र भएर पनि नजिकको हकवाला बुबा इसर आलमले नागरिकता नबनाएकाले रकम बुझन नपाएको सुनाए । अध्यक्ष राउतले मृतकको नागरिकता बनाउन नमिल्ने भएकाले व्यवहारिकता हेरेर काम गर्नुपर्ने र मृतक सबै परिवारले रकम पाउनु पर्ने बताए ।

मुख्य मन्त्रीका प्रेस सहयोगी आतिश मिश्रा मृतक परिवारे आवश्यक कागजपत्र जुटाउन नसक्दा हकवालाको नाममा काटिएको चेक समेत दिन नपाएको बताउछन । मुख्य मन्त्री लालबाबु राउत गद्दी गत हप्ता बारा आएर कागजपत्र पुगेकालाई मात्र चेक हस्तान्तरण गरेर प्रदेश राजधानी जनकपुर फर्किएका थिए । ‘३÷३ लाखका २० थान चेक लिएर आएका थियोैं, प्रेस सहयोगी आतिश मिश्राले भने, आवश्यक कागजपत्र नपुगेकाले अन्यलाई दिन सकिएन । ’ केही स्थानीय तहबाट हकवालाको नाम सिफारिस नआएकाले २० थान मात्र चेक काटिएको पनि उनले बताए । नजिकको हकवालाको बन्ने भन्ने बारेमा परिवारभित्रै विवाद भएपछि स्थानीय तहले हकवालाको नाम तोकेर सिफारिस गर्न नसकेको हो । मिश्राले कागजपत्र पुगेपछि पिडित परिवार सबैले जनकपुर आएर चेक लिनसक्ने पनि जानकारी दिए ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले नागरिकता वा अन्य कागजपत्र नपुगेका कारणले आर्थिक सहयोग पाउनबाट कोही पनि बन्चित नहुने बताए । ‘मृतक भारतीय नागरिकले त पाउने भएका छन भने नेपालीले झन नपाउने हुदैहुदैन, उनले भने कागजपत्र नपुगेको अवस्थामा केही समय ढिलो हुनसक्छ तर सबैले पाउछन ।’ हुरीबाट बारामा ४ भारतीय सहित २८ को ज्यान गएको थियो । प्रदेश सरकारे मृतक भारतीय नागरिकको हकमा पनि आर्थिक सहयोग उपलब्ध गराउन पनि भारतीय राजदुतावासमार्फत प्रकृया चालु भइरहेको बताइएको छ ।

प्रदेश सरकारले घोषणा गरेको आर्थिक सहयोग प्र्राप्त गर्न पिडित नेपाली परिवारले मृतक र नजिकको हकवालाको नागरिकताको प्रमाणपत्र, नाता प्रमाणित तथा स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय वा अस्पतालबाट हावाहुरीले मृत्यु भएको खुल्ने प्र्रमाण पत्र लगायत कागजपत्र मागेको छ ।