भर्नादर बढाउन सांसदसहितको घरदैलो

0
Shares

नेपाल समाचारपत्र, बाँके
बाँकेको ‘कर्णाली’ भनेर चिनिने नरैनापुरमा बालबालिकालाई विद्यालय प्रवेश गराउन सांसदसहितको टीम घरदैलोमा हिडेको छ ।
शिक्षामा पछाडी रहेको नरैनापुरको ५ नम्बर वडा मटेहियामा संघीय सांसद महेश्वर गहतराजसहितको टोली घरदैलोमा हिडेको हो । उमेर समूहका बालबालिकालाई विद्यालयमा प्रवेश गराउन सांसदसहितको टोलीले घरघरमा गएर अनुरोध गरेका छन् । वडा नं. ५ को जयरामपूर्वाबाट बाजागाजासहितको घरदैलो जमुनाहा हुँदै महेटियामा पुगेर कोण सभामा परिणत भएको थियो ।

सांसद गहतराजले शिक्षामा पछाडी परेको नरैनापुरलाई अघि बढाउन आफू लागिपरेको र भर्ना अभियानमा उर्जा थप्न स्वयम् उपस्थित भएको बताए । उनले आफ्ना बालबच्चालाई विद्यालयमा भर्ना गर्न अभिभावकहरुलाई आग्रह गरे ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले भौतिक विकासले मात्र समाजको विकास पूरा नहुने बताउँदै पारिवारिक र सामाजिक विकासका लागि शिक्षा जरुरी रहेकाले आफूले हरसम्भव प्रयास गरिरहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा सरोकारवाला संघसंस्था भर्ना अभियानमा संँगसंँगै रहेको भन्दै भर्नादर सतप्रतिशत बनाउन आफूहरु लागिपरेको बताए ।

२०६८ को जनगणना अनुसार गाउँपालिकाको साक्षरता दर ३२ प्रतिशत रहेको छ । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले गाउँपालिकाले यस बर्ष दुई हजार चार सय जनालाई साक्षर बनाएको र अझैं झण्डै सात हजार सय सय नागरिकले राम्रोसंँग पढ्न र लेख्न नजान्ने तथ्यांक प्रस्तुत गर्दै दुई हजार विद्यालय जाने उमेरका बालबालिका अहिले पनि विद्यालय बाहिर रहेको जानकारी दिए । गाउँपालिकाले वडा नम्बर १ कट्कुइँयाबाट थालेको घरदैलो कार्यक्रम ६ वटै वडामा सम्पन्न गरेको छ ।

गाउँपालिकाका अध्यक्ष साहले शिक्षामा जोड दिन हरसम्भव प्रयास गरिरहेका छन् । विकट गाउँ रहेकाले पढाईको गुणस्तर नराम्रो, शिक्षकको उपस्थिति कमजोर, अभिभावकको छोराछोरीलाई विद्यालय पठाउन आनाकानीले गर्दा नरैनापुर शिक्षामा धेरै पछाडी रहेको छ । बाटो, विजुली, स्वास्थ्य र शिक्षामा कमजोर रहेकाले नरैनापुरलाई बाँकेको कर्णाली भन्ने गरिन्छ ।