महिलाले हाँकेका स्थानीय तह

0
Shares

धनवीर दाहाल, रुकुम पुर्व
रुकुम पुर्व संघियताले जन्माएको नेपालकै कान्छो जिल्ला हो । साविकको रुकुम जिल्ला हुँदा बाउन्न पोखरी र त्रिपन्न टाकुरीको नामले परिचित रुकुम टुक्रिएपछि नयाँ जिल्लालाई कान्छो जिल्लाको रुपमा चिनिन थालियो । ऐतिहासिक पर्यटकिय क्षेत्र रहेको रुकुम पुर्वको सिस्ने गाँउपालिकाले बिस्तारै मुहार फेर्दै छ । जहाँ महिलाले गाँउपालिका हाँकिरहेका छन् ।

सिस्ने गाँउपालिकाको अध्यक्ष कुमारी बराल र प्रमुख प्रशासकिय अधिकृत बिमला रोकाले पालिकालाई हाँकिरहेका हुन् । समृद्ध गाँउपालिका निर्माणको लागी आफुहरु लागीपरेको उहाँहरुको भनाई छ । भौतिक विकासका साथै कानुन निर्माण लगाएतका काममा दिनरात नभनेर अध्यक्ष र प्रमुख प्रशासयिक अधिकृत खटिरहनुभएको छ । बिभिन्न कानुनहरु निर्माण, जनतासँगका प्रतिबद्धता पुरा गर्न राजनितिक सहमति, समन्वय गर्नका अध्यक्ष तथा कानुनको अधिनमा रहेर दैनिक प्रशासनिक काममा प्रमुख प्रशासकिय अधिकृत खटिनुभएको छ ।

स्थानीय तहको निबार्चन भएको दुई बर्ष पुग्नै लाग्दा जनतासँग गरेका प्रतिबद्धता अनुरुप काम भइरहेको गाँउपालिकाले जनाएको छ । सडक, खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य जस्ता महत्वपुर्ण क्षेत्रमा सिस्ने गाँउपालिकाले अपेक्षित उपलब्धी हासिल गरेको गाँउपालिकाका अध्यक्ष बरालले बताउनुभयो । प्रदेश सरकारले पनि सिस्ने गाँउपालिकाको समृद्धिको यात्रामा सहयोग गरेको छ ।

सिस्ने गाँउपालिकाको पोखरा फलामेगौंडा हुँदै डोल्पा जोड्ने सडकको लागी १ करोड बजेट प्रदेश सरकारले छुट्याएको छ । आबश्यक टेन्डरको प्रक्रिया सुरु भइसकेको अध्यक्ष बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आबश्यक टेन्डरको प्रक्रिया सुरु गरेका छौं प्रदेश सरकारले पनि सिस्नेगाँउपालिकाको समृद्ध बनाउन मदत गरेको छ ।” गाँउपालिकालाई अर्गानिक गाँउपालिका बनाउने लक्ष्यका साथ कृषि उत्पादनलाई बिशेष जोड दिइएको छ । कृषि गुरुयोजना निर्माण गरी कार्यान्वन तर्फ गाँउपालिका अगाडी बढेको अध्यक्ष बरालको भनाई छ ।

गाँउपालिकाले हाल सम्म ४० वटा कानुन निर्माण गरेको छ । सोही कानुनमा टेकेर जनताका आधारभुत आबश्यकता परिपुर्तिका लागी काम भएको सिस्ने गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमला रोकाले जानकारी दिनुभयो । स्थानिय तहको निबार्चन हुनुभन्दा अघि एक जना कार्यकारी अधिकृत र सहलेखापालले मात्र दैनिक प्रशासनिक काम गरेको अनुभव सुनाउँदै प्रमुख प्रशासकिय अधिकृत रोकाले निबार्चन पछि भने सहजताका साथ काम गरेको बताउनुभयो । हाल समायोजनले केही असर परेको भएपनि दिनरात नभनेर काम गरिरहेको उहाँको भनाई छ ।