विभिन्न प्रकरणमा मालपोत अधिकृतसहित १६ जना जेल चलान

0
Shares

नेपाल समाचारपत्र. बाँके
सरकारी जग्गा व्यक्तिको नाममा गराउने खेलमा लागेका बीचमा विवाद भएपछि रचिएको अपहरण र हत्या प्रकरणमा तानिएका मालपोत कर्मचारीसहित १६ जनालाई जेल चलान गरिएको छ ।

२०७५ माघ २१ गते पार्टनरसीपमा जग्गाको काम गर्ने नेपालगञ्ज–३ का खैरुल असन अन्सारीले भारत घर भई नेपालगञ्ज–१६, जयसपुरमा डेरा गरी बस्ने जुनेद अन्सारीलाई भारतको बाबागञ्जमा लगेर हत्या गरेका थिए । हत्यामा नेपाल र भारतका पाँच जना संलग्न रहेको खुलेको छ ।
त्यही हत्याको अनुसन्धान गर्दै जादा खैरुल र जुनेदले सरकारी जग्गा आफन्तको नाममा पास गराउने गरेको पाइयो ।

नेपालगञ्ज कारकादोस्थित सिक्टा सिंचाई आयोजनाको परिसरमा पर्ने कित्ता नं. २१० को ५ कठ्ठा १३ धुर नौ महिना अघि खैरुलले सरकारी कागज किर्ते गरी आफ्नो आमा हसरतुन निसा अन्सारीको नाममा जग्गाधनी श्रेस्ता कायम गरेका थिए । नेपालगञ्ज–३ को कित्ता नं. १४ को ५ कठ्ठा १३ धुर सरकारी जग्गा सरकारी कागज किर्ते गरी जुनेदले सासु लाली मल्लको नाममा आठ महिना अघि जग्गा धनी दर्ता श्रेस्ता कायम गरेका थिए । बर्दिया नेउलापुरको कित्ता नं. १९१९ (ख), ७, ८, ५०, ६१ र ६३ को ६ विगाह ३ कठ्ठा १४ धुर सरकारी जग्गा सात महिना अघि खैरुलले बुवा हसन अन्सारीको नाममा दर्ता श्रेस्ता कायम गरेका थिए । त्यो जग्गा २०७५ पुस १२ गते आमा हसरतुनको नाममा नामसारी गरिएको थियो ।

बाँके र बर्दियाका सरकारी जग्गा किर्ते कागज बनाई आफन्तको नाममा पास गर्ने खैरुल र जुनेदका बीचमा विवाद भएपछि अपहरण र हत्यासम्म पुगेको थियो । खैरुलले जुनेदसँग सक्कली कागजात रहेको र उक्त कागजातहरु पटक पटक नष्ट गर्नका लागि माग गरेता पनि जुनेदले दिएका थिएनन् । यही विवादले गर्दा खैरुलले जुनेदलाई भारतमा पु¥याएर हत्या गरेका थिए ।

बाँके प्रहरीले हत्याको अनुसन्धान गर्दै जादा विवादको मूल कुरा सरकारी जग्गा किर्ते कागज गरी व्यक्तिको नाममा गराउने गरेको पत्ता लगायो । त्यसपछि मालपोत कार्यालयतिर अनुसन्धान सोझियो । त्यसक्रममा १९ जना पक्राउ परे । १२ जना फरार भए ।

बाँके जिल्ला अदालतले बिहीबार जुनेद अपहरण गरी हत्यामा संलग्न अभियुक्तहरु खैरुल र सज्जन सैयद तथा सरकारी कागज किर्ते गरी जग्गा आफन्तको नाममा श्रेस्ता कायम गरी नामसारी गर्ने कार्यमा संलग्न मालपोत अधिकृतलगायत १६ जना कर्मचारीलाई पुर्पक्षको लागि जेल चलान गरेको छ । तीन जना भने धरौटीमा छुटेका छन् ।

पुर्पक्षका लागि जेल चलान हुनेमा खैरुल असन अन्सारी, सज्जन सैयाद, लेखनदास विरु भन्ने बृहस्पति खड्का, लेखनदास पप्पु धोबी, मालपोत अधिकृत पुष्पा श्रेष्ठ र रामकुमार रोका, नासुहरु टंकप्रसाद शर्मा, रामबहादुर खड्का, रुद्रबहादुर देवकोटा, कृष्णलाल शर्मा, मानबहादुर केसी, यज्ञश्वर वली, खरिदारहरु भूमिराज पोखरेल र सुशील रिजाल, कम्प्यूटर अपरेटर (करार) लक्ष्मी मल्ल र कार्यालय सहयोगी अन्तराम चौधरी रहेका छन् ।

अदालतबाट खरिदार तुल्सारानी थारु, खरिदार सञ्जयकुमार ठाकुर र सहायक कम्प्यूटर अपरेटनर प्रेमबहादुर चन्द ठकुरी एक÷एक लाख धरौटीमा छुटेका छन् ।

घटनामा संलग्न भनिएका १२ जना फरार रहेका छन् । भूमि सुधार तथा मालपोत कार्यालय, बर्दियाका प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवाली, भूमि सुधार तथा मालपोत कार्यालय, कैलालीका प्रमुख मालपोत अधिकृत दीर्घबहादुर पोखरेल, भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेका मालपोत अधिकृत हेमराज शर्मा, भूमि सुधार तथा मालपोत कार्यालय कावासोतीका मालपोत अधिकृत अशोककुमार भट्टराई, खरिदारहरु कुलानन्द राउत, रविन्द्र थापा, किशोरकुमार रिजाल, कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय, सर्वसाधारणहरु बच्छराज लोनिया, सब्बिर अलि सिद्धिकी, अकबर अलि खाँ र अवधेस ठाकुर फरार रहेका छन् ।