नेपाल एसियन रिजनको फाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपालको १६ वर्ष उमेर मुनिको राष्ट्रिय क्रिकेट टोली थाइल्यान्डमा जारी एसीसी यु १६ एसियन रिजनको फाइनलमा पुगेको छ ।
शनिबार भएको सेमिफाइनल खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएर उपाधि जित्नेतिर अग्रसर भएको हो । नेपालले आईतबार हुने फाइनलमा मलेसियासँग खेल्नेछ । मलेसियाले अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई ५७ रनले स्तब्ध तुल्याएको थियो । समूह चरणमा मलेसियालाई नेपालले सहजै पराजित गरेको थियो ।

नेपालले हङकङबाट मात्र ८७ रनको लक्ष्य पाएको थियो । जुन लक्ष्य सजिलो नै थियो । तापनि हङकङले कडा प्रतिस्पर्धा गरेको थियो । नेपालले २१ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर सो लक्ष्य हासिल गर्नु परेको थियो । टोलीको जितमा आईश भट्टराईले सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रोहन दुधराज विकले १४ रन, कृष कार्कीले १२ रन, दीपक बोहोराले ११ रन, सुवास ऐरले १० रनको सहयोग गरेका थिए । कुनै पनि विकेटका लागि दरो साझेदारी समेत हुन सकेको थिएन । हङकङका बलरमा बृज नारायणले सर्वाधिक ३ विकेट लिँदा अहान कन्हाईले २ विकेट हासिल गरेका थिए ।

यसअघि टस हारेको थाइल्यान्डले ३२ दशमलव २ ओभरमा अलआउट हुँदै ८६ रनको योगफल बनाउन सक्यो । हङकङको ब्याटिङ धरासयी गर्न नेपाली बलर निखिल कुमार सिंहले सानदार बलिङ गरे । प्लेयर अफ द म्याच निखिलले ६ दशमलव २ ओभरमा १६ रन खर्चेर ४ विकेट लिएका थिए । त्यस्तै रमेश कुर्मी र विशाल कुमार पटेलले समान २ विकेट हासिल गरे । एक विकेट तिलक राज भण्डारीको नाममा रह्यो ।

हङकङको तर्फबाट आरुष भागवतले सर्वाधिक ४३ रन जोडेका थिए । यो खेलमै सर्वाधिक व्यक्तिगत रन जोडेका आरुषले नटआउट हुँदै ८३ बलमा ४ चौका ठोकेका थिए । अन्यले उनलाई सहयोग गर्न सकेनन् । उनी बाहेक बाँकी ब्याटसम्यानको लागि दोहोरो अंक पनि भाग्य भएको थिएन । यसमा चार ब्याटसम्यान नेपालको कसिकसाउ बलिङसामू टिक्न नसकेर शून्यमै पवेलियन फर्केका थिए ।