उच्च शिक्षालाई गुणस्तरिय बनाउन जोड

0
Shares

रामेछाप, (नेस)
नयाँ वर्षको आगमन सँगै विद्यालयमा भर्न अभियान चलिरहेको बेला रामेछाप जिल्लाको उच्च शिक्षालाई पनि गुणस्तरिय बनाउन सबै पक्ष एक जुट भएर लागेका छन् । जिल्लामा रहेका ११ ओटा क्याम्पसमध्ये सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृत बहुमुखी क्याम्पस बदलिँदो युगमा क्याम्पमा पढ्ने विद्यार्थीहरुको भविष्यलाई समेत मध्यनजर गर्दै भौतिक संरचना सुधार देखि गुणस्तरिय शिक्षा प्रदान गर्ने गरी लागी परेको छ ।

शनिबार पत्रकार मार्फत मन्थली क्याम्पसले पछिल्लो समयमा क्याम्पसहरुमा सबैको नजर नपुग्दा देशभरकै शिक्षाको गुणस्तरियता खस्कदै गएकोले सुधारका लागि विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरेर अगाडी बढ्न लागेको बताएको छ ।

२०५७ सालमा स्थानपना भएको मन्थली सहिद स्मृत बहुमुखी क्याम्पसको अत्याधुनिक भवन भए पनि क्याम्पसलाई आवश्यक पर्ने केही भौतिक संरचनाहरु बनाउनको लागि र बिग्रिन लागेको संरचनाहरुलाई मर्मत एवं सुधारको लागि चालु आ.व.मा प्रदेश नम्बर तीन सरकारले २५ लाख र मन्थली नगरपालिकाले १५ लाख सहयोग गरेका कारण क्याम्पसलाई सहयोग पुगेको क्याम्पस प्रमुख ऋषि कार्कीले बताउनुभयो ।

त्यस्तै हाल करिब साँढे ५ सय विद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पसलाई आगमी दिनमा समेत निरन्तरता दिनको लागि आर्थिक संकट आउन सक्ने भएकाले त्यसको निरन्तरताको लागि विश्वविद्यालय अनुदान आयोगसँग समन्वय गरेर अगाडी बढ्ने तयारी भइरहेको क्याम्पसका पुर्व प्रमुख टंक दाहालले बताउनुभयो । शनिबार क्याम्पस परिसरमा आयोजित पत्रकार सम्मेलनमा मन्थली क्याम्पसलाई “गुणस्तर सुनिश्चितता र प्रत्यायान” लागि विश्वविद्यालय अनुदान आयोगसँग निरन्तर छलफल भइरहेको दाहालले बताउनुभयो ।