सुदूरपश्चिम प्रदेश सरकार संघीयता विरोधी गतिविधिमा


राम धामी, डडेल्धुरा ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सुदूरपश्चिम प्रदेश सरकार संघीयता बिरोधी गतिविधीमा संलग्न रहेको आरोप लगाएका छन ।

प्रदेश सरकारले संघीयता कार्यान्वयनमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने बेलामा सुदूरपश्चिम प्रदेश सरकारका गतिविधीहरु संघीयताको बर्खिलापमा देखिन थालेको उनले बताए । नेपाली काँग्रेस डडेल्धुराद्वारा शनिबार आयोजित पत्रकार भेटघाटमा बोल्दै नेपाली काँग्रेस डडेल्धुराका सभापतिसमेत रहेका प्रदेश सभा सदस्य मल्लले प्रदेश सरकार अधिनायकवादी बन्ने दिशातर्फ उन्मुख भईरहेको जिकिर गरे ।

प्रदेश सभाको हिउदे अधिवेशन कुल ९८ दिन चलेर हालै सम्पन्न भएकोमा सो अधिवेशनबाट ७ ओटा विधेयक पारित भएको प्रति खुसी ब्यक्तगर्दै साँसद मल्लले प्रदेश सरकारले संसदलाई ‘विजनिस’ दिन नसकेकाले तेस्रो अधिवेशन थप उपलब्धीमुलक हुन नसकेको जिकिर गरे । प्रदेश सरकारले झिनामसिना कुराहरुलाई उपलब्धीका रुपमा देखाएको प्रति आश्चार्य ब्यक्तगर्दै साँसद मल्लले संघीय सरकारले बिभिन्न वाहनामा स्थानीय र प्रदेश सरकारको अधिकार खोसिरहेको भएपनि प्रदेश सरकारले सो बिषयमा बिरोधसम्म गर्न नसकेको बताए ।
प्रदेश सभा सदस्यका रुपमा हालसम्म आफुले संसदीय अभ्यासका क्रममा गरेका काम कारवाहीका बारेमा अवगत गराउदै साँसद मल्लले प्रदेश सरकार अधिनायकवादी बन्दै गएकाले संघीयतानै धरापमा पर्नसक्ने अबस्था सिर्जना हुनसक्ने चेतावनी दिए । उनले प्रदेश सरकारले योजना कार्यान्वयन गर्दा आफैले बनाएको कानून, विधी, पद्दती र मापदण्डको धज्जी उडाएर कार्यकर्ता पोस्ने किसिमले संघीय सरकारबाट प्राप्त बजेटको चरम दुरुपयोग गरिरहेको आरोप लगाए ।

संघीय सरकारले डडेल्धुरा सदरमुकामस्थित तत्कालिन उपक्षेत्रीय अस्पताललाई डडेल्धुरा अस्पतालका नाममा नामाकरणगर्दै स्तरोन्नती गर्ने घोषणा गरे पनि घोषणा भएको तीन महिनासम्म बजेट र जनशक्ति ब्यवस्थापन गर्न नसक्दा अस्पतालको अबस्था दयनीय बन्दै गएको प्रति आपत्ती जनाउदै साँसद मल्लले केन्द्र सरकारले चिकित्सकहरुको दरबन्दी वितरणगर्दा सुदूरपश्चिम क्षेत्रलाई विभेद गरेको आरोप लगाए ।

‘कुनै प्रदेशमा ३३ हजार जनसंख्या बराबर एक चिकित्सकको व्यवस्था गरेको सरकारले सुदूरपश्चिममा अढाई लाख जनसंख्यालाई एक चिकित्सकको दरबन्दी वितरण गरेको छ ।’ उनले भने यस्तो विभेदका बिरुद्ध शशक्त आन्दोलन आबश्यक छ ।’
साँसद मल्लले केन्द्र सरकारले संबिधान र प्रचलित कानून विपरित १० हजार शिक्षकलाई करारमा भर्ना गरिरहेको बताउदै सरकारका जनविरोधी कृयाकलापकाबिरुद्ध जनतालाई वास्तविकता बताउन र संगठन सुदृढीकरणकासाथै सामाजिक जागरणका लागि नेपाली काँग्रेस डडेल्धुराले यहि बैशाख २५ गतेदेखि गाँउ जागरण अभियान सञ्चालन गर्ने बताए ।