समाजसेवी धामीले चलाएको सहयोग अभियानले अनितालाई दियो नयाँ जीवन


महेन्द्रनगर ।
रुखबाट लडेर खुट्टा गुमाएकी अनिता चौधरीलाई देश विदेशबाट लाखौँ सहयोग आएको छ । बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी अनितालाई स्वदेश सहित विदेश बाट सहयोग आएको हो ।

खास गरेर दक्षिण कोरीयामा रहेका सुदूर पश्चिमेलीहरुले भरपुृर सहयोग गरेका छन् । कोरियामा रहेका सुदूर पश्चिमेलीहरुले एउटा समुह अर्थात संगठन बनाएर नेपालीहरुलाई विभिन्न आपत–बिपत तथा समस्याहरुमा सहयोग गर्दै आएका छन् । अनिताका लागि दक्षिण कोरियामा सहयोग जुटाउनका लागि प्रभाव शाही संयोजक, बिनोद भट्ट र लक्ष्मण तिरुवा सदस्य सहितको प्रमुख भुमिका रहेको थियो ।
सुदूर पश्चिम समाज दक्षिण कोरीयाकाबाट खुट्टा गुमाएकी अनितालाई लगभग ९० प्रतिशत आर्थिक सहयोग भएको छ । नेपालबाट रोजगारीका लागि दक्षिण कोरियामा बस्दै आएका नेपाली, त्यहाँका केही कोरियन नागरिक र यहाँका समाजसेवीबाट समेत आर्थिक सहयोग आएको होे ।

शनिबार एक कार्यक्रममा विच अनिताको परिवारलाई संकलन भएको सहयोग रकम हस्तान्तरण गरिएको छ । गत असोज ११ गते रुखबाट लडेर घाईते भएकी अनिताले दाँया खुट्टा गुमाएकी थिईन् । ‘अनिता चौधरी सहयोग गरौँ, अभियानका संंयोजक जनक धामीले मानविय सहयोगका लागि देश विदेशबाट सहयोग संकलन गरिएको बताए ।

संयोजक धामीका अनुसार घटना भएदेखि यता ७५ दिन अभियान संचालन गरिएको बताए । उक्त अभियान अन्र्तरगत २ लाख, ५४ हजार रकम संकलन भएको बताए । उनका अनुसार २ लाख, १ हजार ७७४ रुपैया कोरियाबाट र बाँकी नेपालबाटै सहयोग पाईएको बताए । ‘आर्थिक रुपमा विपन्न अनिताको भविष्यका लागि हामीले अभियानै चलाएका थियौँ, ‘उनले भने, ‘देश विदेशबाट सहयोगी मनकारी हातहरु आए ।’ बेलडाँडी स्थित एनएमबि बैंकका खाता खोलेर रकम संकलन गरिएको संयोजक धामीले बताए ।

जम्मा भएको रकम मध्ये १४ हजार कोहलपुर मेडिकल कलेजमा खर्च गरिएको र बाँकी २ लाख ४० हजार उनको शिक्षा, दिक्षा र उपचारका लागि १० बर्षका लागि फिक्स डिपोजिट खाताका रकम जम्मा गरिएको छ । आर्थिक रुपमा विपन्न अनिताको उपचारका लागि स्थानीय गाउँलेहरुले अभियान शुरुवात गर्नु अघि नै ३७ हजार ३५८ रुपैया संकलन गरेर उपचारका लागि खर्च गरेका थिए । संयोजक धामीका अनुसार बेलडाँडी गाउँपालिकाको सिफारिसमा एनएनएसडब्लूएबाट अनिताको कृत्रिम खुट्टा हालिएको छ । अनिता बैजनाथ मावि ९ मा अध्ययनरत छिन् । देश विदेशबाट आएको सहयोग रकमले अनिताको उच्च शिक्षा र जिवनै फेरिएको छ ।

अनिता अध्ययनरत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दबिर बुढाले आफ्नो तर्फबाट अनिताको शिक्षाका लागि सहयोग गर्ने बचन दिए । बेलडाँडीका समाजसेवी एकेन्द्र शाहले सहयोग रकमबाट अनिताको शिक्षाका लागि खर्च गर्नुपर्नेमा जोडदिए ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष कर्णदेव भट्टले ग्रामीण भेगकी बालिकालाई पर्न गएको पीडामा मलम लगाउने थुप्रै भावना प्रकट भएको बताए । ‘एक ग्रामीण भेगकी बालिकालाई दुखेको छ, ‘उनले भने, ‘त्यो घाउमा मलम लगाउन देश विदेशबाट भावना जागृत भयो ।’ अनिताको शिक्षा र भविष्यका लागि आगामी दिनमा समेत अभियान संचालनमा उनले सुझाव दिए । अनिताका बाबु मनिराम चौधरीले आर्थिक अभावबाट पिरोलिएको परिवारलाई थुप्रै सहयोग आएको बताए । उनले आफ्नो छोरीको लागि सहयोग गर्ने सबै क्षेत्रलाई धन्यवाद दिदै अभार प्रकट गरे ।