खाल्डैखाल्डोले भरियो त्रिभुवन राजपथ


हेटौंडा ।
हेटौंडाबाट मकवानपुरको उत्तरी क्षेत्र जाने त्रिभुवन राजपथ (बाइरोडको बाटो) सडक निकै जीर्ण बन्दै गएको छ । नेपालको इतिहास बोकेको सडकमा पिच उप्किएर खाल्डाखुल्डी बढेका छन् । हेटौंडादेखि भैंसे बजारसम्मको सडक केही राम्रो भए पनि भैंसेबाट माथि लागिसकेपछि सडक निकै जीर्ण र खाल्डाखुल्डी देखिएका हुन् ।

पुरानो सडकमा धेरै स्थानमा खाल्डाखुल्डी र पिच उप्किएर उक्त सडक कच्चीजस्तै बनेको छ । हिउँदमा तराई र हेटौंडामा निकै गर्मी बढेपछि दामन, पालुङ घुम्न जाने धेरै हुन्छन् । तर, सडकको खाल्डाखुल्डीका कारण दुर्घटनाको त्रास बढेको सवारीचालक बताउँछन् ।

पूर्वपश्चिम राजमार्गमा अवरोध हुँदा हेटौंडा–काठमाडौं ओहोरदोहोर गर्ने बैकल्पिक मार्गका रुपमा रहेको त्रिभुवन राजपथ जीर्ण बन्दै गए पनि मर्मतसम्भारमा कुनै कार्यालयले चासो नदिएको तरकारी लोड गरेर हेटौंडा आउँदै गरेका ट्रकचालक श्याम सापकोटा बताउनुहुन्छ ।
त्रिभुवन राजपथको दामन क्षेत्रमा सडकमा पिच गरिए पनि भैंसेको चुनियाँदेखि सीमभञ्ज्याङ सम्मको सडकमा खाल्डाखुल्डी र जीर्ण बनेको स्थानीयले बताएका छन् । लामो समयदेखि मर्मत नभएकोले सडक जीर्ण बन्दै गएको छ ।

सडकको दुर्दशाका कारण पछिल्लो समयमा उक्त सडकखण्डमा दुर्घटना बढेका छन् । पूर्वपश्चिम राजमार्ग बन्द हुँदा एकै पटक सवारीको चाप धेरै हुने र त्यही बेलामा सडक बिग्रने गरेको छ ।

त्रिभुवन राजपथ नेपालको राजधानी काठमाडौंलाई तराईसँग जोड्ने बैकल्पिक मार्ग हो । उक्त मार्ग काठमाडौंदेखि पर्साको बीरगञ्जसम्म पुगेको छ । राजमार्गको लम्बाई १ सय ८८ किलोमिटर छ । राजमार्ग हेटौंडामा महेन्द्र राजमार्ग सँग जोडिन्छ ।

पहिरोको जोखिम र सडक निर्माणमा भएको ढिलाइपछि राजधानी प्रवेश गर्ने नारायणगढ–मुग्लिन सडक–खण्डमा अवरोध आउँदा त्रिभुवन राजपथमा सवारी चाप बढ्ने गरेको छ । त्यसबेला हेटौंडा–दामन–नौबीसे सडकखण्डमा दैनिक दोब्बरभन्दा बढी संख्यामा सवारीसाधन आवतजावत गरेका थिए ।

नारायणगढ–मुग्लिन सडकमा अवरोध आएको बेला त्रिभुवन राजपथ काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट छुट्ने अधिकांश बसलगायत ठूला सवारीसाधनको वैकल्पिक मार्गमा परिणत हुने गर्दछ । साँघुरो बाटो र साना घुम्तीका कारण दश चक्केदेखि माथिका गाडी बाइरोडको बाटोमा गुड्न रोक लगाइएको छ ।

चुनियाँदेखि लामिडाँडासम्मको बाटो साँघुरो रहेकोले दोहोरो गाडी आवतजावत गर्न समस्या हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । पछिल्लो समय राजपथ सडक मर्मत नभएकोले दुरावस्थाका कारण सडक खण्डको विभिन्न स्थानमा दुर्घटनाको जोखिम पनि बढ्दो छ ।
त्रिभुवन राजपथमा साना सवारीसाधनसमेत दैनिक तीन सयभन्दा बढीको संख्यामा चल्ने गरेका छन् । हेटौंडाबाट काठमाडौंसम्म त्रिभुवन राजपथ १ सय ३२ किलोमिटर र नारायणगढ–मुग्लिन सडक २ सय २२ किलोमिटर लम्बाईको छ । हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं जाने फाखेल र सिस्नेरी दुवै मार्गमा सुमोलगायत साना सवारीमात्र सञ्चालन हुने गरेको छ ।