विद्युत सव स्टेशन निर्माणको काम तीव्र


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिममा ३३ केभी बिद्युत प्रसारण लाईनको सव स्टेशन निर्माण सुरु भएको छ । गत मंसिरदेखी सुरु भएको कामले तिब्रता पाएको छ । मुसिकोट नगरपालिकाको पिपलनेटा निर्माण सुरु भएको सव स्टेशन डेड बर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडी बढेको हो ।

केन्द्रीय प्रसारण लाइन रुकुममा जोडिएसँगै सल्यानको शितलपाटीमा रहेको सव स्टेशनको क्षमताले नभ्याएपछि रुकुम पश्चिममा छुट्टै सव स्टेशन निर्माण थालिएको हो । नेपाल बिद्युत प्राधिकरणको चार करोड लागतमा बिद्युत सव स्टेशन निर्माण सुरु भएको हो ।

गत मंसिरदेखी थालिएको कामको ३० प्रतिशत काम सम्पन्न भएको छ । हाल सम्म ३० प्रतिशत काम सकिएको र तोकिएको समयमै काम सक्ने निर्माणको जिम्मा लिइएको वाइवा इनफ्राटेक प्रालिका सव इन्जीनियर रामकुमार यादवले जानकारी दिनुभयो । इन्जीनियर यादवले भन्नुभयो “हामीले कामलाई तिब्रता दिइएका छौं ।

तोकिएको समयमा काम सक्नेछौं ।” डेड बर्षभित्र काम सक्ने योजनाका साथ काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । यो सव स्टेशन निर्माण भएपछि जिल्लामा बिद्युतमा देखिएको समस्या समाधान हुने बिश्वास गरिएको छ ।