अक्षर चिन्ने भएपछि साक्षर वडा घोषणा


विमल विष्ट, डोटी ।
डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडान २ लाई एक कार्यक्रमका बिच आज साक्षर वडा घोषणा गरिएको छ । उक्त वडा भरीमा रहेका सबै नागरिकहरु अक्षर पढ्न सक्ने तथा नाम लेख्न सक्ने साक्षर भएकाले साक्षर वडा घोषणा गरिएको वडाअध्यक्ष राजेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो वडाभरीका नागरिकले अक्षर चिन्ने र पढ्न सक्ने भएकाले हामीले साक्षर वडा घोषणा गरेकाछौँ ।”

वडा भित्रका नागरिकलाई साक्षर बनाउन वडा कार्यालयले वडामा साक्षरता कक्षा सञ्चालन गरेपछि अहिले सो वडाका सबै नागरिक साक्षर भएको सो वडाका वडा सचिब लालबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो वडामा निरक्षर रहेका लाइ हामीले साक्षर बनाउन तालिम दियौ,उनिहरुले लेख्न र पढ्न सिकेकाले साक्षर वडा घोषणा गर्न सफल भयौँ ।”

वडामा रहेका १८ वर्षदेखि ६० वर्ष उमेर भित्रका महिला र पूरुष गरि जम्मा ४७५ जना निरक्षर नागरिकहरुले साक्षरता कक्षा सञ्चालनबाट साक्षर बनेको बताईएको छ । वडाभित्र रहेका विद्यालय जाने उमेरका सबै बालवालिकाहरु विद्यालयमा भर्ना भएका र बाँकी गाउँका सबै नागरिकहरु साक्षर भएपछि वडालाई साक्षार वडा घोषणा गरिएको वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो ।

साक्षर वडा घोषणा कार्यक्रममा वडाअध्यक्ष राजेन्द्रबहादुर खड्काले आफनो वडालाई साक्षर घोषणा गरेसँगै पुरै दिपायल सिलगढी नगरपालिकालाई नै पूर्ण साक्षर नगरपालिका बनाउनमा सहयोग गर्ने बताउनुभयो । साक्षर वडा घोषणा कार्यक्रममा वडा भित्रका विभिन्न महिलाहरुका आमा समुहरुलाई वडा कार्यालयले पुरस्कार समेत प्रदान गरेको थियो । जिल्लाको दिपायल सिलगढी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गर्न तिब्ररुपमा काम भईरहेको दिपायल सिलगढी नगरपालिकाका नगर उप प्रमुख शिबराज खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दिपायल सिलगढी नगरपालिकालाई हामी केही महिना भित्रमै साक्षर नगरपालिका बनाउने तयारीमाछौँ त्यहि अनुरुपमा तिब्र रुपमा काम अगाडी बढाईरहेकाछौँ ।”

त्यसै यस नगरपालिकाका अन्यवडाहरुपनि साक्षर वडा घोषणा गर्ने हेतुले काम अगाडी बढी रहेको दिपायल सिलगढी नगरपालिका वडान ४का वडाअध्यक्ष वीरेन्द्रबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी साक्षर वडा घोषणा गर्ने तयारीमा छौँ,केही दिनमा हामीपनि आफनो वडालाई साक्षर वडा घोषणा गर्दै छौँ ।”

जिल्लामा पछिल्लो पटक वडा कार्यालयहरु साक्षर वडा घोषणा गर्नकालागि निकै होडबाजी चलेको छ । यहाँका वडाअध्यक्षहरु आफनो वडा कसरी अरुभन्दा चाडो साक्षर घोषणा गर्ने भन्ने चिन्तामा काम अगाडी बढाईरहेका छन् ।