प्रदेश– ५ मा सडक सभ्यता अभिवृद्धि मुलक साताव्यापी कार्यक्रम शुरु


यमलाल भुसाल, बुटवल ।
सवारी दुर्घटनाबाट हुने मृत्यु घटाउने योजना सहित प्रदेश पाँचको ट्राफिक प्रहरीले शनिवार देखि सडक सभ्यता अभिवृद्धि मुलक साताव्यापी कार्यक्रम शुरु गरेको छ ।

प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्नेगरी शनिबार बुटवलमा सडक सभ्यता अभिवृद्धि मुलक प्रभातफेरी सहित बिशेष समारोह गरिएको छ । प्रभात फेरी पश्चात ट्राफिक चोकमा भएको बिशेष समारोहमा बोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसीले यस प्रदेशमा सवारी व्यवस्थापन र दुर्घटना न्यूनिकरणका लागि प्रदेश सरकारले केही दिनमा प्रदेश यातायात ऐन ल्याउन प्रदेश सभामा पेस गर्ने बताउनु भयोे ।

मन्त्री केसीले दुर्घटना न्यूनिकरणका लागि सरकारले प्रयाप्त वजेटको व्यवस्था गर्न लागेको बताउदै ट्राफिकको पुरानो कार्य शैलीमा समेत परिवर्तन जरुरी रहेको औल्याउनु भयो ।

उहाँले दुर्घटना पछि कसको गल्ती छ भन्ने कुरा पत्ता लगाउनका लागि प्रदेश सरकारले वर्दघाट देखि वर्दियासम्मको सडकमा सिसिटिभी जडान गरि निगरानी गर्ने समेत तयारी गरेको बताउनु भयो ।

मन्त्री केसीले प्रदेश पाँचमा संचालित सवारी साधनमा चढदा सुरक्षित रुपमा गन्तव्यमा पुगिन्छ भन्ने कुरालाई स्थापित गराउनु पर्नेमा जोड दिनु भयो । दुर्घटना न्यूनिकरणकालागि ट्राफिक प्रहरीले ‘ठाउँका ठाउँ सुधार’ अभियान सञ्चालन गर्नलागिएको प्रदेश पाँचका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) पिताम्बर अधिकारीले बताउनु भयो । मान्छेको व्यबहार सुधारलाई अपनाईएको ‘ठाउँका ठाउँ सुधार’ अभियान अन्तरगत ट्राफिक नियम विपरितका गतिबिधि गर्नेलाई तत्कालै समातेर सुधार गराउने तथा ट्राफिक नियमका बारेमा जानकारी गराईने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो–‘मेन फोकस सडकको प्रयोग गर्ने आनीबानी सुधारमा हुन्छ ।’ यो कार्यक्रम प्रदेश पाँचका १२ वटै जिल्लामा सञ्चालन गरिने छ ।

यो प्रदेशमा सवारी दुर्घटनाका कारण हाल प्रतिमहिना ४८ जनाको ज्यान जाने गरेको छ । यो संख्यालाई घटाएर ३० मा झार्ने, त्यसैगरी हाल ८७ वटा सवारी साधन प्रतिमहिना दुर्घटना हुने गरेकोमा सो संख्यालाई ५० मा झार्ने, सवारी दुर्घटनाकै कारण प्रतिमहिना ७०२ जना घाईते हुने प्रहरीको तथ्यांक छ । यो संख्यालाई पनि ५ सयमा झार्ने प्रहरी रणनीति छ ।

सप्ताहमा रुपन्देही सहित प्रदेश अन्र्तगतका सबै जिल्लामा दुर्घटना न्यूनिकरण गर्न चालक तथा सहचालकहरुलाई सडकमै सडक सुरक्षासम्वन्धी प्रशिक्षण दिनेदेखि विभिन्न सचेतना मुलक कार्यक्रम गरिने छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना, प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्द ,प्रहरी निरिक्षक गंगा सारु लगायतले सप्ताहव्यापी कार्यक्रमले रिजल्ट ओरियन्टेट हुने गरि काम गरिने धारणा राख्नु भएको थियो ।

प्रभातफेरीमा बुटवलमा क्रियाशिल संघ सस्था, बिद्यार्थी सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।