दलित दुलाहालाई दहीअक्षता


राम धामी, डडेल्धुरा
सुदूरपश्चिम प्रदेशसभा सदस्य सांसद कर्णबहादुर मल्लले दहीअक्षतासहितको टीका लगाएर दलित दुलाहाको जन्ती प्रस्थान गराएका छन्।

सुदूरपश्चिमेली समाजमा उपल्लो जातिका व्यक्तिले दलितलाई सकभर टीका नलगाउने र लगाउनै परे पनि सुख्खा अबिर मात्रै लगाउने परम्परा तोडेर जातीय विभेदयुक्त सामाजिक संस्कारको अन्त्य गर्ने सन्देश प्रवाह गर्न सांसद मल्लले दही अक्षतासहितको टीका लगाएर दलित युवाको बिहे प्रस्थान गराएका हुन्।

शुक्रबार अमरगढी नगरपालिका–२ का दलित युवक सुरेश शार्कीको बिहेमा सहभागी भएका सांसद मल्लले परम्परा र संस्कारका नाममा जातीय विभेद समाजमा व्याप्त रहेकाले विभेदकारी संस्कारहरूको अन्त्य गरिनु आवश्यक रहेको बताए।

सांसद मल्लले दहीअक्षता लगाएर दुलाहालाई आशीर्वाद दिएपछि नेपाल दलित संघ अमरगढी नगरसमितिका सभापतिसमेत रहेका शार्कीको बिहे शुक्रबार नै बैतडी प्रस्थान गरेको छ। नेपाली कांग्रेस डडेल्धुराका सभापतिसमेत रहेका सांसद मल्लले सामाजिक रूपमा व्याप्त जातीय विभेदको अन्त्यका लागि नेपाली कांग्रेस डडेल्धुराले आइतबारदेखि गाउत् जागरण अभियानको थालनी गर्ने बताए।

सांसद मल्लले दुलाहा शार्कीकै घरमा खाना खाएका थिए। गाउत् जागरण अभियानका क्रममा सामाजिक जागरणका लागि जातीय, लैगिंक विभेदबिरुद्ध व्यवहार परिवर्तन अभियान थालिने उनले जानकारी दिए। उनले ग्रामीण क्षेत्रमा व्याप्त विभिन्न अन्धविश्वास बिरुद्ध नेपाली कांग्रेसका नेता कार्यकर्तामार्फत व्यवहार परिवर्तन अभियान थालिने बताए।