वार्तामा अमेरिकाको विश्वास अपुग ः किम


सोल, (एजेन्सी)
उत्तर कोरियली नेता किम जोङ उनले यसै वर्षको शुरूमा भियतनामको राजधानी हनोईमा राष्ट्रपति डोनाल्ड ट्रम्पसंग भएको वार्ताको दौरान अमेरिकाले राम्ररी विश्वास गर्न नसकेको आरोप लगाएको शुक्रबार कोरियाली केन्द्रीय समाचार निकाय ‘केसीएनए’ ले जनाएको छ।

साथै किमले कोरियाली प्रायद्विपको शान्ति पूर्णतया वासिंगटनमा निर्भर रहने विचार पनि प्रकट गरेका छन्। उनले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंगको भ्लादिभोस्तकमा भएको वार्ताको क्रममा सो प्रतिक्रिया दिएको बताइएको छ।

रुसको महवपूर्ण भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ उन शुक्रबार रुसको सुदूरपूर्र्वी तटीय तथा बन्दरगाह शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किएको रुसी सरकारी समाचार निकायले जनाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणामा किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुगेका थिए।

रुसी समाचार निकायले किमको भ्रमण समय छोट्याइए तापनि किमको भ्लादिभोस्तोकको अक्वारियम पुग्ने तथा ब्यालेट हेर्ने कार्यक्रम रहेको जनाएको छ। उनको भ्रमण अचानक छोट्याइनुको कारण खुलेको छैन। यसैबीच राष्ट्रपति पुटिनले किमले उत्तर कोरिया भ्रमणका लागि दिएको निमन्त्रणा स्वीकार गरेको पनि केसीएनएले जनाएको छ। पुटिनले उपयुक्त समयमा उत्तर कोरिया भ्रमण गर्ने बताइएको छ। बिहीबार पुटिनले पनि उत्तर कोरियाको आणविक कार्यक्रमको अन्त्यका लागि प्योङयाङलाई अन्तर्राष्ट्रिय सुरक्षाको ग्यारेन्टि दिइनुपर्ने बताएका थिए।