खोटाङको दिक्तेल बजारमै खानेपानीको चरम अभाव


खोटाङ,  बिहीबार परेको भारी वर्षापछि आएको बाढीले मुहान पुरिँदा दिक्तेल बजारमा खानेपानी अवरुद्ध भएको छ । बिहीबार दिउँसो हावाहुरीसँगै परेको भारी वर्षापछि आएको बाढीले दिक्तेल बजारमा विस्तार गरिएको दुवै मुहान पुरिँदा बिहीबार साँझदेखि खानेपानी अवरुद्ध भएको हो ।

बाढीले मुहान पुरिएसँगै खानेपानी अवरुद्ध भएपछि अहिले दिक्तेल बजारमा खानेपानीको हाहाकार मच्चिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा विस्तार गरिएको ७३० वटा धारामा पानी अवरुद्ध भएपछि अहिले बजारवासी आसपासको गाउँमा पुगेर धारा तथा कुवाको पानी ल्याएर उपभोग गर्न बाध्य भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको सिरानमा रहेको रम्बाखोला र माझखोला मुहान पुरिएपछि खानेपानी अवरुद्ध भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभयो । “दिक्तेल बजारमा विस्तार गरिएको पानीको दुवै मुहान खुला ठाउँमा छ”, उहाँले भन्नुभयो, “मुहानदेखि माथिबाट झरेको बाढीले दुवै मुहान पुरिएको छ । सफा गर्न कामदार खटाएका छौँ । चाँढै नै सञ्चालन हुन्छ ।”

अवरुद्ध खानेपानी सञ्चालन भएपछि प्रशोधन नगरी उपयोग नगर्न बजारवासीलाई उपभोक्ता समितिले अनुरोध गरेको छ । दिक्तेल बजारमा विस्तार गरिएको खानेपानीमा ३० प्रतिशत कोलिफर्म (दिशामा पाइने कीटाणु) रहेको पाइएकाले प्रशोधन गरेर मात्र उपभोग गर्न अनुरोध गरिएको समितिका अध्यक्ष जोशीले बताउनुभयो ।

दिक्तेल बजारमा लामो समयदेखि खानेपानीको समस्या भए पनि सम्बन्धित निकायले चासो नदिएको दिक्तेल बजारस्थित सल्लेरीटोलका गुणराज सैंजूले आरोप लगाउनुभयो । “दिक्तेल बजारमा खानेपानीको समस्या झेल्नुपरेको लामो समय बित्यो”, उहाँले भन्नुभयो, “सम्बन्धित निकायले तत्काल दीर्घकालीन समाधान नखोजेमा दिक्तेल बजारमा खानेपानीसम्बन्धी जटिल समस्या निम्तने निश्चित छ ।”
दिक्तेल बजारमा हिउँद÷वर्षा बाह्रैमास खानेपानीको समस्या रहेको छ । १५ वटा वडा रहेको नगरको केन्द्र रहेको दिक्तेल बजारमा कहिले धारामा पानी नै नआउने, आइहाले पनि फोहर तथा दूषित पानी आउनेलगायतका समस्या रहेको उपभोक्ताको गुनासो छ ।

यति मात्र नभई उपभोक्ता समितिका पदाधिकारीले आफ्ना नजिकका केही व्यक्तिका घरमा तीन÷चारवटासम्म धारा बाँडेको र उनीहरुका धारामा चौबीसैँ घण्टा पानी आउने गरेको एक उपभोक्ताले आरोप लगाएका छन् । नाम नभन्ने शर्तमा उनले भने, “मैले दुई वर्ष दिनअघि एउटा धाराका लागि निवेदन दिएको थिएँ, अहिलेसम्म उपभोक्ता समितिले दिएको छैन ।” उनले थपे, “त्यस्ता उपभोक्ता समितिका पदाधिकारीलाई तत्काल कारवाही गरेर समानुपातिक तबरले वितरण गरिनुपर्छ ।”

दिक्तेल बजारमा देखिएको खानेपानीको समस्या समाधान गर्न नगरपालिकाको तर्फबाट पहल भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो । “खानेपानी विस्तारका लागि भर्खरै मात्र ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “आगामी डेढ वर्षभित्र दिक्तेल बजारमा देखिएको खानेपानीसम्बन्धी सबै समस्या समाधान हुन्छ ।”

दिक्तेल बजारमा देखिएको खानेपानी समस्या समाधान गर्न साना शहरी खानेपानी तथा सरसफाइ आयोजना शुरु गरिएको छ । दिक्तेल बजार र बाम्राङका स्थानीयवासीलाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी वितरण गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको खानेपानी आयोजनाको जिम्मा आशिष निर्माण कम्पनीले लिएको छ ।

रु २२ करोड ५५ लाख ५८ हजार लागतमा १८ महीनाभित्र सम्पन्न गर्ने गरी काम शुरु गरिएको आयोजनाको शिलान्यास गत चैत २४ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गर्नुभएको थियो । नेपाल सरकारको ७०, काठमाडौँ महानगरपालिकाको नगर विकास कोषमार्फत् २० र उपभोक्ताको पाँच प्रतिशत लगानीमा सम्पन्न हुने आयोजनामार्फत् मुहान संरक्षण तथा नयाँ मुहान थप, ट्याङ्की निर्माण, घरघरमा विस्तार गरिएको धारामा मिटर जडानलगायतका काम गरिने जनाइएको छ ।
रासस