नेकपाका नेता जनमुक्ति पार्टीमा प्रवेश


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरु राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

आज राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा कर्णाली –काठमाडौं सम्पर्क समितिका सचिव सूर्य धियालसहित सयभन्दा बढी नेता तथा कार्यकर्ता राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेको पार्टीका उपमहासचिव मेखराज परियारले बताए ।

१ नम्बर प्रदेशका पूर्व नेकपा ( माओवादी केन्द्र) का पनि ५० भन्दा बढी नेता तथा कार्यकर्ताहरु राष्ट्रिय जनमुक्ति पार्टीको विचार र सिद्धान्त मन पराउँदै पार्टीमा समाहित भएका छन् ।

परियारले केही कलाकारलाई पनि पार्टीमा भित्रयाइएको बताए । परियारले समान विचार मिल्ने अन्य पार्टी र नेतालाई पनि पार्टी प्रवेश गराउने विषयमा छलफल भइरहेको जनाए ।

नव प्रवेशीहरुलाई पार्टीका अध्यक्ष केपी पालुङ्वा, संस्थापक नेता रामबहादुर तुम्बाहाम्फेलगायतले अबिर माला लगाइदिएर पार्टी प्रवेश गराएका थिए । केही दिनअघि लोक जनशक्ति पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता भएको थियो ।

नयाँ पार्टीको नाम पनि राष्ट्रिय जनमुक्ति पार्टी नै रहेको छ । २०४७ सालमा यो पार्टीको स्थापना भएको थियो । यो पार्टीबाट गोरेबहादुर खपाङ्गी, शिबलाल थापा र एम्एस् थापा मन्त्री भइसकेका छन् ।