वाग्मती पुलको निर्माण सुस्त     


काठमाडौँ,  काठमाडौंको तीनकुनेस्थित वाग्मती पुलको काम सुस्त गतिमा भइरहेको छ ।

यो पुलको ठेक्का अवधि सकिएर थप भएको अवधि समेत सकिँदा भौतिक प्रगति ३० प्रतिशत मात्रै भएको छ । दुई वर्ष छ महिनामा सम्पन्न हुने गरी यो पुलको निर्माण ठेक्का सम्झौता विसं २०७१ पुसमा पप्पु कन्सट्रक्सनसँग भएको थियो । आधुनिक प्रविधि (नेटवर्क आर्क ब्रिज) बाट निर्माण भइरहेको यो पुलको निर्माण ठेक्का अवधि गत महीनामा सकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

ठेकेदारले नियमित रुपमा काम नगर्दा पुल निर्माणमा ढिलाइ भइरहेको आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । शुरुको वर्षमा डिजाइन बनिनसकेको भए पनि अहिले ठेकेदारले नियमित रुपमा काम नगरेको उहाँको भनाइ छ । यो पुल निर्माण शुरु हुँदा सम्बन्धित निकायले यहाँका विभिन्न संरचना हटाउनमा चासो नदिएको पनि उहाँले बताउनुभयो ।

“पुल निर्माण स्थलमा खानेपानी, ढल, विद्युत्लगायतका संरचना रहेका थिए”, उहाँले भन्नुभयो, “सम्बन्धित कार्यालयले संरचना हटाउन चासो नदिएपछि अहिले हामी आफैँले नै हटाएर काम गरिरहेका छौँ ।” अहिलेसम्म पुलको जगको काम मात्रै सम्पन्न भएको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो ।

ठेक्का अवधि सकिएर एक पटक अवधि थप हुँदा पनि ठेकेदार कम्पनीले काममा ढिलाइ गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “काम नगर्ने हो भने त्यही कम्पनीलाई अवधि थप गरिरहने भन्ने हुँदैन ।”

यो पुल निर्माण ढिलाइको मुख्य कारण ठेकेदारको ढिलाइ भए पनि त्यससँगै डिजाइनमा लामो समय लाग्नु र संरचना समयमा नहट्नु पनि रहेको इञ्जिनीयर श्रेष्ठले जानकारी दिनुभयो । सरकारले यसअघि बनाउँदै आएको अरु सामान्य पुलमा पहिले विज्ञलाई डिजाइन गराएर मात्रै ठेक्का आह्वान गर्ने गरेको थियो । यो पुलमा भने ठेकेदार आफैँले डिजाइन गरेको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख थियो । डिजाइनले नै सम्झौताको आधा समय अर्थात डेढवर्ष लागेको उहाँले जानकारी दिनुभयो ।

‘ठेक्का अवधि शुरु भएपछिको पहिलो डेढवर्ष डिजाइनमा नै सकियो”, उहाँले भन्नुभयो, “बाँकी डेढवर्षमा पनि त्यहाँ रहेका संरचना नहट्दा उनीहरुले सरासर काम गर्न पाएका थिएनन् ।”नेपालमा पहिलो पटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त मानिने श्रेष्ठले बताउनुभयो । अरु सामान्य प्रविधि (आरसिसी) भन्दा पुल देख्दा सुन्दर देखिने र लामो आयू हुने उहाँले बताउनुभयो ।

अरु पुलमा भारबहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ । ठेकेदारमार्फत गरिरहेको काममा त्यहाँ रहेका संरचना हटाएर ठेकेदारलाई काम गर्न ‘साइट’ खुल्ला गर्नुपर्ने जिम्मेवारी आयोजनाको हो । डिजाइन सकिएको एकवर्ष त्यहाँ ‘साइट’ खाली गर्नमा नै लागेको उहाँले बताउनुभयो । सो स्थानमा रहेका खानेपानी, ढल र विद्युत्को हाइटेनशन लाइन हटाउन नसकेकाले काममा बाधा पुगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले बारम्बार पत्राचार गर्दा समेत बेवास्ता भएपछि हामी आफैँले त्यहाँका संरचना हटाएका थियौँ ।”जापान सरकारको सहयोगमा निर्माण भएको माइतीघर–तीनकुने सडक आठ लेन भए पनि यहाँ रहेका दुई सडक पुल चार लेनको थिए । निर्माणाधीन धोबीखोला र वाग्मती पुल सम्पन्न भए पनि यो सडक आठ लेनको हुनेछ । सो पुलको निर्माण भएपछि तीनकुनेदेखि जडीबुटीसम्म दैनिक हुने सडक जाममा कही कमी आउने विश्वास लिएको छ ।

विश्वका विकसित देशको प्रविधि पहिलो पटक नेपाल भित्र्याइएको हो । पुलको माथिल्लो तहमा अर्धवृत्ताकार संरचना निर्माण गरिने आयोजनाले जनाएको छ । बीचमा बलिया तार जडान हुनेछ र तीनका बीचमा दलिन राखिने खालको डिजाइन रहेको छ । नेटवर्क तारले पुलको भारबहन क्षमता तल र माथि गरेर सन्तुलनमा ल्याउनेछ । यो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुलको पनि एउटै मितिमा ठेक्का सम्झौता भएको थियो ।

अहिले धोबीखोलामा भने भौतिक प्रगति ७० प्रतिशत पुगेको आयोजनाले जनाएको छ । यो पुलको लम्बाइ ८५ मिटर र चौडाइ १२ मिटर रहेको छ । यो पुलको निर्माण ठेक्का अवधि गत भदौमा सकिसकेको छ ।