गौरिकामाथि आस गर्न सकिन्छ

0
Shares

फिरोज राजोपाध्याय, काठमाडौं
नेपाली पौडीको इतिहासमा हेर्ने हो भने एकै खेलाडीले वर्चश्व बनाएको हुन्छ । त्यो खेलाडीको समकक्ष कोही पनि पुग्न सकिँदैन र पौडी प्रतियोगितामा त्यति प्रतिस्पर्धा पनि हुने गरिँदैन । जसले गर्दा एउटै खेलाडीको निकै चर्चा हुन थाल्छ । विगतमा नयना शाक्य, करिश्मा कार्की, श्रेया धिताल महिला पौडीमा वर्चश्व कायम गरेका जलपरीहरु हुन् । उनीहरु ओलम्पिकमा वा एशियन र सागमा भाग लिन्छन् त्यसपछि कता जान्छन् कसैलाई चासोको विषय पनि हुँदैन ।

यस्तै आजभोलि चर्चा भएको छ गौरिका सिंहको । गौरिकाले ओलम्पिकमा सहभागि जनाएर होस वा नेपालमै हुने राष्ट्रिय प्रतियोगितामा होस महिला पौडीमा हाल एकछत्र राज गरिरहेकी छिन् । लन्डनमा हुर्के पनि नेपालमा आएर पौडी खेलेकी छिन् उनले । सोही अनुसारको अभ्यास पनि उनले गरेकी छिन् । हालै नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले त भाग लिएको १२ वटै स्पर्धामा स्वर्ण जितेकी छिन् । उनी अहिले गोल्डेन गर्लको उपनामले पनि चर्चित बनेकी छिन् ।

गौरिकाले शुरुमै नेपाली महिला पौडीमा कयौं कीर्तिमान ध्वस्त गर्दै कीर्तिमानहरु आफ्नो नाममा सारिन् । यो क्रम नेपालगन्जको उष्ण मौसममा समेत जारी रह्यो । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत् महिला पौडीमा गौरिकाले पहिलो दिन २ स्वर्ण र दोस्रो दिन पनि २ स्वर्ण नै जितिन् । तेस्रो दिन उनले ४ स्वर्ण जितेकी उनले चौथो दिन थप ४ स्वर्ण हासिल गर्दै कूल १२ स्वर्ण प्राप्त गरेकी हुन् ।

यसरी राष्ट्रिय खेलकुदमा पौडीमा १२ स्वर्ण जित्नेमा गौरिका पहिलो खेलाडी भने होइनन् । यसअघि करिश्मा कार्कीले यस्तो शानदार उपलब्धि हासिल गरेकी थिइन् । करिश्माले काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा १२ स्वर्ण जितेर एक नयाँ इतिहास रचेकी थिइन् । ठ्याक्कै १० वर्षपछि गौरिकाले यस्तो कारनामा देखाइन् । गौरिकाले राष्ट्रिय कीर्तिमान रचेकी छिन् हरेक स्पर्धामा स्वर्ण जितेकी छिन् । तर पनि नेपालमै हुने १३औ दक्षिण एशियाली खेलकुदको लागि स्वर्ण जित्न भने निकै मेहनत गर्नु पर्ने देखिएको छ ।

नेपाली खेलाडीसँग तुलना गर्दा गौरिका अब्बल रहिन् । गौरिका र दोस्रो हुने खेलाडीबीचके समयअन्तर निकै फरक छ । तर सागमा अन्य दक्षिण एशियाली राष्ट्रका खेलाडीको प्रदर्शन निकै राम्रो भइरहेको छ । उनीहरुसँग प्रतिस्पर्धा गर्न गौरिकालाई विशेष तरिकाले तयारी गर्न सम्बन्धित निकायले अहिलेदेखि नै पाइला चाल्नुपर्छ । गौरिकासँग सागमा स्वर्ण जित्ने आस गर्न सकिन्छ । ओलम्पियन गौरिकाले नै नेपाललाई पौडीमा भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा पदक दिलाएकी हुन् ।

त्रिभुवन आर्मी क्लबसँग आबद्ध गौरिकाले १ सय मिटर फ्रिस्टाइलको स्पर्धामा १ मिनेट भन्दा कम समयमा दुरी पुरा गरेकी छिन् । उनले ५९ दशमलव ६० सेकेण्डको समय लिँदै स्वर्ण हात पारिन् । १ सय मिटर दुरीको प्रतिस्पर्धामा १ मिनेट भन्दा कम समय लिनु निकै राम्रो मानिन्छ । यदि यो दुरीमा र अन्यमा अझै सुधार गर्न सकिएमा गौरिकाले १३औं सागमा पनि तहल्का मच्चाउन सकिन्छ ।