मधेसमा फेरि जलिन् ‘कञ्चन, ‘बेटी पढाऊँ बेटी बचाऊँ’ योजना असफल

0
Shares

काठमाडाैं ।

अहिले प्रदेश–२ सरकारले ‘बेटी पपढाऊँ बेटी बचाऊँ’ योजना अघि सारेको छ । छोरी, चेलीहरु असुरक्षित भएपछि प्रदेश सरकारले यो अभियान अघि बढाएको हो । तर दैनिक महिला हिंसाका घटना बढ्दै गएपछि सरकारको योजनामाथि नै प्रश्न चिन्ह उठेको छ ।

‘बेटी पढाऊँ बेटी बचाऊँ’ का अभियान चलिरहँदा पछिल्लो समय धनुषा लगायत मधेसका जिल्लाहरुमा छोरी चेलीहरु असुरक्षित हुनुपरेको हो । मधेशका जिल्लाहरुमा एकपछि अर्को गर्दै ज्यूँदै जलाइएका घटनाहरु घटिरहेका छन् । प्रदेश सरकारको अभियान चलिरहँदा सिरहामा एक महिलालाई ज्युँदै जलाइएको छ । घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई उनकै पति र सासु मिलेर जलाएका छन् ।

धनुषामा एक नवविवाहिता चेली निर्मला यादवलाई उनकै पतिले मट्टीतेल छर्केर जलाएको घटना सेलाउन नपाउँदै कञ्चन देवीमाथि आफ्नै परिवारका सदस्यबाट आक्रमण भएको हो । बिहीबार बिहान करिब ११ बजे घरायसी विवादमा कञ्चनलाई जिउमा आगो लगाएर जलाइएको छ । आगोले उनको शरीरको ८० प्रतिशत भाग जलेको छ । उनको अवस्था अहिले गम्भीर छ ।

सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार घटनापश्चात् कञ्चनका पति बेचन मण्डल खत्वे फरार भएका छन् । घटनामा संलग्न रहेको भन्दै प्रहरीले बेचनका आमालाई नियन्त्रणमा लिएको छ । अहिले आगोबाट जलेकी कञ्चनलाई काठमाडौंमा ल्याएर उपचार गरिएको छ । ‘घटना घट्नेबित्तिकै कञ्चनलाई उद्धार गरेर उपचारका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएका थियौं ।’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘उनको शरीरको अधिकांश भाग जलिसकेको छ । यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको हो ।’

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटना बिहीबार विहान ११ बजेतिरको हो । ‘घरायसी विवाद हुँदा घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परिन् हामीले तत्कालै कञ्चनलाई उपचारको लागि धरान पठायौं’, उनले भने ‘हामी घटनाको अनुसन्धानको लागि कञ्चनकी सासुलाई नियन्त्रणमा लिएका छौं । पति बेचन फरार भएका छन् । उनको पनि खोजी कार्य जारी रहेको छ । घटना कसरी भएको हो भन्ने यकिन गर्न सकिएको छैन । हामी अनुसन्धान गरिरहेका छौं । अहिले उनको उपचार भइरहेको छ ।’

निर्मला यादव पनि जीवन मरणको दोसाँधमा
बैशाख ५ गते धनुषाको शहिदनगर–१ पुरवारी टोल चिरैयाकी २० वर्षीया निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टीतेल खन्याएर आगो लगाए । घरायसी विवादको क्रममा घरमा कोही नभएको बेला लागुऔषधको नसामा मुकेशले निर्मलाको हात खुट्टा बाँधेर जिउमा मट्टीतेल खन्याएर आगो लगाएर ढोका बन्द गरी फरार भएका थिए । त्यसपछि गाउँलेले निर्मलाको उद्धार गरी उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेका थिए । उनको पनि अहिले काठमाडौंमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको पनि शरिरको ४० प्रतिशत भाग जलेको छ । अहिले उनि जीवन मरणको दोसाँधमा छिन् ।

तराईका जिल्लाहरुमा महिलाहरुलाई कहिले दाइजो त कहिले अन्य घरायसी बेमेलका कारण ज्यूँदै आगो लगाएका घटनाहरु दैनिकजसो आउने गरेका छन् । तर सरकारले पिडामा परेका महिलाहरुको घाउमा मलहम लगाउने काम भने गरेको छैन् । जसका कारण महिलाहरुले अनाहकमा मर्नुपरेको छ ।